शीर्षक : नकाब
न्वारानमा राखिएको न्वारने नाम ,
बिध्यालय भर्ना हुँदा राखिएको बोलाउने नाम
कुनैले पनि
हाम्रो वास्तबिक चिनारी नदिएपछि र
पत्याउनै गार्हो हुने गरि
सम्बन्धका नाम समेत झुटा ठहरिएपछि ,
झुटको पराकाष्ठा सहन नसकी
जान्ने भए देखि नै लागेको छु ,
सुचिकरणमा नयाँ नामाकरणको ।
कुरा नजिकैबाट शुरु गरौँ
ठेलमठेल गरेर बगेको आँसुको खहरे
सकी नसकी घुट्क्याउदै
अबरुद्द गलाबाट मधुर आवाज ,
खुब मृदुल लवजमा
मुस्कानको लाली लगाएर
जब , फुत्त निस्कियो आमाको अधरबाट
अवाक भएँ म
र बाचा गरेँ आफैँसँग
निकालेरै छोड्नेछु
नक्कली मुहार भित्र लुकेको सक्कली अनुहार ।
च्यातेरै छाड्नेछु झुटको पर्दा र देखाइदिनेछु
अंध्यारोमा लुकेर बसेको
नग्नतालाई।
नियाल्न थालेँ समाज,
र
यसरी गरेँ सुचिकरण,
ढोँगी ,
बलात्कारी,
ब्यभिचारी ,
घुस्याहा यस्तै धेरै ,
लामो सुचि तयार भयो ,
अझै लामो लाम छ
बस्तीमा परिचय सनाखत हुन बाँकी मान्छेअरुको ।
अबिछिन्न खटेको खट्यै छु
हजुर पनि थोरै सघाउनुस्न है
म यिनका सान्त सौम्य र सुन्दर मुखौटो भित्रको
कुरुप नग्नताको उत्खनन गर्छु ,
हजुर यिनीहरुको न्वारन गर्दिनुस् है।
दिन दुखीको सेवामा अहोरात्र खटिने भनिएका
खटिरे मुखिया
लोग्ने परदेश गएको साँईलीको झुप्रोमा
समसाँझै छिरेदेखी मिर्मिरे सम्म निस्किएनन्
कुन नाम जुर्छ उनलाई ?
साठी कटेको , झुर्सुक्क सेतो दारीमा मुस्किलले उभिएको
जीर्ण मान्छे देशै बोक्छु भन्छ ,
यस्ता गुदि र गिदी बिनाका गफाडीलाई
बोक्रे भन्न मिल्छ कि नाई ?
विबेकको फ्युज उँडेको न्यायाधीशलाइ
के नाम दिने ? अलमल्लमा छु।
सेतो कोटमा अस्पतालमा देखिने ,
मान्छे भएर पनि भगवानकै पद पाएको
त्यो मान्छेले मान्छेकै मुटु बेच्छ रे
लौन के नाम दिने उसलाई ?
चक डस्टरमा कक्षामा छिर्ने
अर्को भगवान
वासनाको लामो डस्टरले
मेटिदिन्छ रे अस्मिताका सुडौल अक्षरहरु
मेरो मस्तिस्कले भ्याएन उसको नाम जुराउन ।
सृष्टिकी देवी पद राम्रै पाएकी छिन्
भलै जन्माइन् एउता सन्तान वासनाको आगोमा जलेर ,
आजकल भ्रुण हत्यामा माहिर छिन् रे के नाम सुहाउला
यो बिराट सत्यलाई।
ए साँचै !
के नाम दिने मेरी झुटी आमालाइ ,
सुरुमै कुरा गरेकी थिएँ नि सम्झिनुहुन्छ ?
अलकत्रा चपाए भन्दा पनि गार्हो रहेछ नि
यो नाम दिने काम ।
जे होस हरेस खानु हुन्न ,
आउनुहोस यी शीर्ष मान्छेहरुका शीर्ष नाम लिएर,
खोपिदिउ ट्याटु यीनका निधारमा ,
र जोगाउँ ,
सोझो बिरामीलाई अस्पतालबाट
सात बर्से बालिकालाई बलात्कृत हुनबाट
अनि
कैयन सृष्टिकर्तालाई
आमाकै गर्भमा निमोठिन बाट