Skip to content
Namita Dawadi
  • About me
  • Books
  • Poems
  • Gajal
  • stories
  • Music Video
logo
Contact

Namita Dawadi

About me
Facebook Youtube Instagram
Copyright 2025 - Namita Dawadi ! made by The Digital Club

दु:खले पनि जिन्दगी सिकाएर गएको छ निःशब्द छु,
चोटसँग अभ्यस्त पार्न,पिटाएर गएको छ निःशब्द छु।

एउटा अस्तित्व बाँच्न अर्कोले मर्नै पर्ने पनि हुँदो रहेछ,
नदी बन्न अमुल्य हिउँ बिलाएर गएको छ निःशब्द छु।

हिसाब गरौं आफ्नै कर्मको,सकिन्छ सिकौं प्रकृतिसँग,
काँडाले धर्म पुरा गर्‍यो ,बिझाएर गएको छ निःशब्द छु।

लगनशील भै तालीम गराउनमै ब्यस्त छ जिन्दगी यहाँ,
पाउ नचुकोस्,अँध्यारोमा हिडाएर गएको छ निःशब्द छु।

खोइ बितिरहेको त्यो पल के चाहन्थ्यो म सँग, सोधिनँ,
नहिँड्दा उसकै तालमा रिसाएर गएको छ निःशब्द छु।

पारिजात हुँ म, झोलमा मह ढोल्न बिर्सिन्छु,
लड्डु झैं आवाज,अधरमा घोल्न बिर्सिन्छु।

तिमीलाई प्रशंसा पुगेन, के गरुँ म छु नै त्यस्तै,
तिमी समिप सोच्न बिर्सिन्छु,बोल्न बिर्सिन्छु ।

तिम्रो प्रेम, मेरो भाषामा हत्या हो समर्पणको,
अचम्म किन अपराधीको पोल खोल्न बिर्सिन्छु!

धेरै पटक मृत घोषित नगरेकी होइन आफुलाई,
तिम्रै लागी साँचिन होला शरीर पोल्न बिर्सिन्छु।

हावा चल्दा पात हल्लिनबाट न कोही बचाउन सक्छ,
नियतिको गणितमा कोही न जोड्न,न घटाउन सक्छ।

यो जिन्दगी लम्ब्याउने सामर्थ्य कहाँ राख्छौँ र हामी,
केही सत्कर्मले नामको आयू अबस्य बढाउन सक्छ।

जीवनमा सधैं हास्नै पर्छ भन्ने छैन ,रोजाइ आफ्नो हो,
उसलाई मुटुमै बास दिएको छु र सधैं रुवाउन सक्छ।

तिमीलाई नापेर, जोखेर न प्रेम गरेको हो तिम्रो प्रेमले,
चिनेनौ उसलाई जो तिम्रो खोट मुटुमा सजाउन सक्छ।

हामी मान्छे खोइ के का लागि भारी अभिमान बोक्छौँ,
सुर्य बिना गगनले त,न उषा, न निशा जन्माउन सक्छ।

आजाती किन्न सकेन,बेकाम नै भो मौज्दात यहाँ,
बन्धी जीवन भन्दा मिलोस् मृत्युकै मुलाकात यहाँ।

तिम्रै काख पाऊँ चिर-निद्रामा लाग्थ्यो मेरो नेपाल,
मिलेन भने केही छैन, मुटुमै छ यादको खात यहाँ।

भ्रम हो कि ,साच्चै अन्धकार मायाबी हल हो यो,
अचम्म! सक्दैन सुर्योदय पनि हटाउन रात यहाँ ।

लाग्दैछ म छानिँदै छु, चालिँदै छु ,सायद पिसिन्छु,
मुख बाएर सैतान हाजिर छ,गर्न सक्छ घात यहाँ।

मृत्यु देखि डराएको छैन,बुझेकै सत्य हो आखिर ,
खड्केला तुलसी,मोठ घरको यही छ बात यहाँ।

बिडम्बना! प्राय हँसाउने नै रुन मजबुर हुन्छ,
निर्बाध आँशु आफैंसँग हुन्छ,खुशी सुदुर हुन्छ।

किनिदिएँ परिस्कृत फोन जानुन् सन्सार भनी,
सोचिनँ उनको मनको परिस्कार जरुर हुन्छ।

प्यास मेटाउँदैमा रित्तिँदैन फेवा,छोडिदैँन यसै,
मान्छे न हो!धमिल्याउन सयर गर्न आतुर हुन्छ।

तिम्रै लागि सधैं आगोमा जल्ने ओदानलाई सोध,
आफ्नो स्वार्थका लागी मान्छे कति निस्ठुर हुन्छ।

आजाती किन्न सकेन,बेकाम नै भो मौज्दात यहाँ,
बन्धी जीवन भन्दा मिलोस् मृत्युकै मुलाकात यहाँ।

तिम्रै काख पाऊँ चिर-निद्रामा लाग्थ्यो मेरो नेपाल,
मिलेन भने केही छैन, मुटुमै छ यादको खात यहाँ।

भ्रम हो कि,साच्चै अन्धकार मायाबी हल हो यो,
अचम्म! सक्दैन सुर्योदय पनि हटाउन रात यहाँ।

लाग्दैछ म छानिँदै छु, चालिँदै छु ,सायद पिसिन्छु,
मुख बाएर सैतान हाजिर छ,गर्न सक्छ घात यहाँ।

मृत्यु देखि डराएको छैन,बुझेकै सत्य हो आखिर,
खड्केला तुलसी,मोठ घरको यही छ बात यहाँ।

कहीँ नाल काटिँदै होला, त कहीँ कात्रो नापिँदै होला,
सत्य जीवनको कहीँ खुल्दै होला,कहीँ ढाटिँदै होला।

उ बहुलाएको हो मात्र एउटै प्रश्नको जवाफ नपाएर,
किन हर बिहान आमाको सिरानी उल्टो पारिँदै होला।

यो झरीलाई पनि कहाँ जस छ र पर्दा पनि ,नपर्दा पनि,
बटुवा रुझ्यो रुष्ट छ,उता भिजेर जवानी लाडिँदै होला।

मालिक धैर्य गर्नुस न! एकै छिन् त हो तयारी चल्दैछ,
फूल छरिँदै होला, बिछ्यौनामा मलमल राखिँदै होला।

धन्यवादका शब्द पठायो सपनाको सन्सार मिल्यो अरे,
आज कतै देखिँदैन उ, पिएर तातो रगत मातिँदै होला।

यो सप्रिनु र बिग्रिनुको कुरा पनि एउटा सोचाइ रहेछ,
जीबन मान्यताको थैली भर्ने पनि उसकै भोगाइ रहेछ।

बचपन कतै नजाने रहेछ ,मनको पिँजडा छोडेर यहाँ ,
सिरानी बिझाउँछ लाग्छ,फरिया आमाको बोलाई रहेछ।

मलाई माफ गर मेरो छोरा नसिकाएकोमा,मै सिक्दै छु,
आफू जित्न अरुलाई ढाल्नै पर्ने, जिन्दगी कुदाइ रहेछ।

यता बाट हेर्यो खोट लगायो ,उता पल्टायो खोट देख्यो ,
दैब सबै उस्तै देख्छ, खाली खोटी मान्छेकै हेराई रहेछ।

चोटले मरे तुल्य भै कहिले ,प्राण सल्बलाए झैं कहिले ,
सधैं नयाँ पाठ रट्नु पर्ने जिन्दगी आखिर सिकाइ रहेछ ।

ओत खोज्दैछ झरीमा ,उ आफैंले रुख ढलाएर पनि,
भन्छ सर्लक्क भै उभिनु पर्छ,जरैदेखि गलाएर पनि।

सोच्यौ यसलाई कुरुप पारेर जान्छु, छुट्टियौ म बाट ,
तिमी पतकर भयौ, म उस्तै छु पालुवा पलाएर पनि।

के के जानेको हो कलीले ,के सिकाउँछ मान्छेलाई ,
एक सिकारी मान्छेकै सिकार गर्दैछ,चारो फलाएर पनि।

यसैले त उ विशेष छ, कसैले नसक्ने काम गर्न सक्छ,
कल्पिन सक्छ सुन्दर मन बगान, खुशी जलाएर पनि।

आङ कन्याएर छारो! ठुलाको कुरा नगरौं भनेकै त हो,
सुगन्ध कहाँ फैलन्छ र जानीजानी फोहोर चलाएर पनि।

यो छाती बाटो बनेको छ,जो कोही टेकेर जान सक्छ,
उ मात्र हिडोस् यो गोरेटोमा,जो डोब मेटेर जान सक्छ।

आमा बिन्ती निमोठीदेउन घाँटी! एकै छिन त दुख्ने हो,
डर छ छैँटीमा भाबीले सधैंलाई चोट लेखेर जान सक्छ।

कतिसम्म ढोँगी छ यो समाज ,आउनुहोस् म देखाउँछु,
दिनमा चिन्दैन उ मलाई,साँझ ओठ जोडेर जान सक्छ।

आमा म त्यस्तो मन्दिरमा छु ,जुन कल्पनामै छैन तिम्रो,
यहाँ पुजारी रोज देवीलाई बलात्कार गरेर जान सक्छ।

खुशी हुनुस् सफलतामा! म आज जे छु हजुरकै देन हो,
बिक्रीमा छु,रातो गल्लीमा जो कोही किनेर जान सक्छ।

मान्छेको पर्यायबाची दम्भ रहेछ, गुणगान रहेछ,
दस्तुरको तौल पो यहाँ खुत्रुकेको पहिचान रहेछ।

हजुरबालाई भब्यता चाहिएन,कछाडमै जानु भो,
जाबो सभ्यता भन्नू पनि बिनासको सिरान रहेछ।

बलात्कार सजिलै पच्छ ,यौन शिक्षा पच्दैन यहाँ,
यो समाज पनि खाली ढोँग रहेछ,ब्यबधान रहेछ।

आमा झुठो रहेछ,तिमिले सुनाउने मनको कथा नै,
सानाको मन भन्दा ठुलो यहाँ ठुलाको सान रहेछ।

बा सधैं एक्लै देखिन्थे सडकमा,आज देखिएनन्,
भब्य बिदाई चल्दै रहेछ, उनको पनि जहान रहेछ।

को जित्ला, को हार्ला यहाँ चलिरहेको सङग्राम छ,
अरे! प्राणको भात,मासुको अचार भोज धुमधाम छ।

जिब्रो थुतिएको छ,आवाज लुटिएको छ, ढुक्क हुनुस्,
घिस्रिन सक्दैन उ अदालतसम्म शरीरमा निलडाम छ।

बन्द गर उध्याउन खुकुरी! बरु बन्दोबस्त गर घनको,
पत्थर झैँ भएको छु चोटले,कम्जोर प्रहार बेकाम छ ।

सोचेँ! तिमीमै सुरक्षित रहला मन मुटु र त सुम्पिदिएँ,
भाउ हेरी बेचिदियौ, त्यो ब्यापारी मनलाई सलाम छ।

आमा! कति झुक्याउँछ्यौ आएर झझल्कोमा सधैं सधैं,
छामेर निधार,सोध्यौ आज पनि तिमीलाई आराम छ?

मालीक!नेपाल मुटुमै लिएर फरार भएकी छु,
भोग्नु पर्छ चोरीको दण्द भने तयार भएकी छु।

बाँचेर फर्किएँ भने तिम्रै पोल्टोमा हुन्छु आमा!
माफ गर झुठो बोलेँ,भनिन बिमार भएकी छु।

ठुलै प्रगति भएको छ मेरो, डाँडा पाखा छोडेर,
आज! शहर सजाउने सुन्दर मुहार भएकी छु।

आमा! आजकल तिम्रो झझल्को कमै आउँछ,
दिनहुुँ फरक प्रेमी,पुरै शहरको प्यार् भएकी छु।

आमा! बहिनीलाई भोली नै घर बोलाउनु होस्,
यहाँ जो कोही बेचिन्छ,आफैं बजार भएकी छु।

सँगै रोपेको प्रीतको पिपलु र बर बिर्सने छैन,
सिन्दूर संगै जोडिएको तिम्रो थर बिर्सने छैन।

सिरानी बेचेर निद्रा दुबैको किन्न हिडेकी न हुँ,
तिमीसँग बिताएका ती हरेक प्रहर बिर्सने छैन।

तिमी एक्लै छैनौ प्रिय! जिन्दगीको गाडा तान्न,
लिएको ऋण तिसौदीको ब्याजदर बिर्सने छैन।

चाहे भूगोलको जुन बिन्दुमा डोर्याओस् कर्मले,
तिम्रो न्यानो अङ्गालो, प्रेमील अधर बिर्सने छैन।

म मै रहन्छु रहन्न के थाहा,तिमी बिना मुग्लानमा,
मुटु चलुन्जेल, चुहिने छाना,माटे घर बिर्सने छैन।

चुलीबाट खसेदेखि मनको धौलागिरी उभिएन फेरि,
समय समेत गद्दार बनिदियो थोरै उज्यालो दिएन फेरि।

हरेक पाईला सोचेर मात्र चाल्छ,धेरै बुद्धिमान छ ऊ,
यो छाती सिँउडी झैँ बनेपछि उसले कुल्चिएन फेरि।

माटे घरले पनि आत्महत्या गर्‍यो एक्लै अत्यासमा,
शहरले निल्यो अर्थात् बाटो भुल्यो ,ऊ फर्किएन फेरि।

मान्छेकै ब्यापारमा व्यस्त देखिन्थ्यो, हतारमा सधैँ ऊ,
बिचरो आफैँ बेचिएछ क्यारे बजारमा देखिएन फेरि।

सालिक थोरै मुस्कुरायो मालामा,कुन्नि के सोचेर हो,
ऊ हिँडेदेखि नै फूल फुलेन घरमा माला उनिएन फेरि।

रोज मर्छन् धमनी र शिरा जिन्दगानी यो मसानघाट रहेछ,
मुर्दा बनी निस्कन्छ बालापन, जवानी यो मसानघाट रहेछ।

प्रियाको पाउजुको झङ्कारले मार्छ,मार्छ गुलाबी अधरले,
भगवान! कुन दिन काटेछु राहदानी यो मसानघाट रहेछ।

कति छिटो पोतिदियो धनले,अहम् को अँगार मुहार भरी,
म मै रहिन जलेर खार भएँ,बेइमानी यो मसानघाट रहेछ।

खुसी थियो रबि झुल्किन पाएर प्रभातमा , सोचेन केही,
साँझ क्षितिजमा अस्तायो, बिहानी यो मसानघाट रहेछ ।

सधैं -सधैं हाम फालेर आत्महत्या गर्छन् मेरा आँसुले यहाँ ,
उसले छोडेको खास यादको निसानी यो मसानघाट रहेछ ।

तिमी बिना अडेन मन,छोड्न शहर मजबुर भएँ,
नखोज समिपमा प्रिय, म तिम्रै लागि दूर भएँ।

तिम्रो यादमै मर्यो धड्कन , फ्याकिदिएँ बगरमा,
मुटु बिना तिम्रै नजरमा, आज फेरि निष्ठुर भएँ।

नखोज्नु मलाई प्रिय, कुनै रङ्गमा ,मुस्कानमा,
सुहाग खुसीको मर्दा, बियोगमा म बिधुर भएँ।

दिन होस या रात यो मन, सम्झिरहन्छ हर पल,
तिमी नभएर के भो प्रिय,यादकै म मजदुर भएँ।

बिर्सिन्छु भने देखि नै,सम्झना किन बड्छ झन् झन्,
जल्दा चितामा पनि, देख्न तिमीलाई आतुर भएँ।

एउटा बाँचेको देखेर, बगलमा अर्को डराउँछ,
झार उखेलेपछी कर्सो रमाउँछ,आँगन रमाउँछ।

चाहिँदाको भाँडो बनाएकी न हौ,गल्ती छैन तिम्रो,
रातले पनि मिर्मिरे सँगै जूनलाई डाँडो कटाउँछ।

जरुर आफ्नोपन देखाउँछ, उ मेरो मनको मान्छे हो,
उपहारमा हरेक दिन चोट पठाउँछ,आँसु पठाउँछ।

खुट्टा भाँचिएको बेला आँगन डेग सरेन मेरा लागि,
काल नजिक हुँदा जिन्दगीले पनि त भाउ बढाउँछ।

मालिक! कालो सबै नराम्रो भन्नु हुन्छ,छ घृणा मात्रै,
उनैलाई हेर्नुस् त! गाजलले कसरी आँखा सजाउँछ।

न गाल्न सकेँ तिम्रा यादहरु, न बाल्नै सकेँ प्रिय,
न रोप्न सकेँ बोट प्रेमको,न उखाल्नै सकेँ प्रिय।

न लेख्न सकेँ तिमीलाई,कविता गजलहरुमा,
न मार्न सकेँ याद काँडा जस्तो,न पाल्नै सकेँ प्रिय।

न थाम्न सकेँ ती हात मैले,न थामिए यी कसैमा,
न जिउँदो छु तिमीबिना, प्राण न फाल्नै सकेँ प्रिय।

सिउँदोमा सिन्दुर लिएर, जब खुल्यौ सपनीमा,
न भाग्न सकेँ कतै टाढा, न अँगाल्नै सकेँ प्रिय।

बाँच्नु बर्ष हजार,हजार ,मेरो आयु तिमीलाई नै,
न तुर्न सकेँ अध्याय,नयाँ न थाल्नै सकेँ प्रिय।

नहर भएर पखाल्न सकेनौ,आयौ बतास भएर,
चाहे जति टाढा उडाउँनु, आएको छु कपास भएर।

खाडीको घामले भन्दा महँगीले पोलेपछी के गरुँ,
सपनाले घचेटे पछी,खोलो तरेकी हुँ निरास भएर।

मेरो समर्पणको गहिराइ नछाम्नु, कारण नखोज्नु,
किन रोजेँ बिग्रह,बाँच्नु थियो तिम्रै समास भएर!

लाम्टो चुसेर निदायो बच्चो,दरबारको झलुङ्गोमा,
आमा रुँन्छिन् उता लाजको,जामाको उपहास भएर।

तरुण भन्छ हात समातियो,के गरुँ ,केही गर्न हुन्थ्यो,
कति रुँग्छौ चुलो,बुढाहरु हो निस्क अवकास भएर।

दुखको एकान्तबासमा हेर आज,हर देश दिग्दार देखिन्छ।
माहुरी बसाइँ सरे ज्यान जोगाउन, अब एक्लो घार देखिन्छ।

दुख्ला! मलाई भेट्छु भन्दै कहिल्यै दरौँदी नतर्नु है आमा,
जति खोज देखिन्नँ म,मात्र मैले थापेको बैँस बजार देखिन्छ।

यहाँ सेवा दिने, सेवा लिने ,सबै ब्यस्त छन् गणितमा आहा!
सरकारी कार्यालयमा आज इमानको राम्रो व्यापार देखिन्छ।

केही त भएको छ, तिमीले पत्थर बजारेर गएदेखि छातीमा,
सायद तिम्रै यादको झुन्ड रुन्छ मनमा चर्काे हाहाकार देखिन्छ।

दृश्य आफैँ बन्छ ,तिमी खाली आँखाहरु खुल्ला मात्र राखिदेऊ,
आफ्नैले मात्र पिलाउँछ विष मायामा अनौठो व्यबहार देखिन्छ।

बिहानै देखि चल्छ पाखुरो चल्न त काम भएर के गर्नु।
सक्दैन दुई छाक भर्न भुन्टेको भुँडी दाम भएर के गर्नु।

छ न त छ हजुर मेरो पनि रहर मुसुक्क मुस्कुराउँने,
कोठरीमा नै थुनियो जीवन,बाहिर घाम भएर के गर्नु।

साम्प्रदायिक किराहरुले नै निलिसके मुख्य मुख्य अंग,
खाली टोपी सगरमाथाको अनि नेपाल नाम भएर के गर्नु।

काम आउने ठाउँमा जन्मिनु पनि ठूलो कुरा रहेछ यहाँ,
ठेलीमै चुपचाप थन्किरहनु पर्ने यो लगाम भएर के गर्नु।

सिमानामा फसेका खाली मजदुर हुन् सरकार चिन्ता नगर्नुस्,
बिना मतपेटिका मताधिकारीको जोरजाम भएर के गर्नु।

म धूले बाटोको गजल लेखिरहेँ, उता बाटो हिलो भैसकेछ।
शिरको सिन्दूर प्रियाको मेट्न मिलेन,भेट्न ढीलो भैसकेछ।

हतार हतार सिक्का टिप्दै थिएँ म भबिस्यका लागि भन्दै,
धोका हो या विवशता उसको पत्तै नपाई टिलो भैसकेछ ।

न समयलाई चिन्न सकेँ न समयसँग ठोकिएकाहरुलाई नै,
यो चुम्बन मल्हम नै हो सोच्दा सोच्दै,धारिलो भइसकेछ

साथी तँ गएको खबर कसरी दिऊँ,सोच्दैमा ढिलो भएछु,
म छुटेँ बार्ता मिल्नासाथ नै श्रद्धाञ्जली सजिलो भैसकेछ।

जिन्दगी कथा सुनाई रहन्छ कति सुनाउन सक्छ।
अनौठो शैली कथा भन्ने रात दिन रुवाउन सक्छ।

बाबु !आँखा नचिम्ल एकैछिन अबसर छुट्ला फेरि,
के थाहा राहत आउन सक्छ,मृत्यु डराउन सक्छ।

क्रान्ति! क्या नाटक मन्चन गर्छ मान्नै पर्छ खुबी आहा!
निलेर जिन्दगी सपना सालिकको पठाउन सक्छ।

चिन्ता छ समाधान छैन, नङ्ग्रा झैँ चिमोटिरहन्छ मन,
मलाई खनेको खाल्टोले मेरालाई झुक्याउन सक्छ।

के दुःखमा पनि रमिता हुन्छ? भन रमितेहरु हो!
किन बुझ्दैनौ! घाइतेलाई युद्धले दुखाउन सक्छ।

प्रेमको भाषा हुँदैन नबोली, नबोली गर्न जान्नुपर्छ।
मायाले डस्छ,मुटुको बिर्को नखोली गर्न जान्नुपर्छ।

किनिन र बेचिन मात्र अभ्यस्त छौ ,पटक्क बुझ्दैनौ,
मायाको मोल हुँदैन,नतौली,नमोली गर्न जान्नु पर्छ।

सधैं आरोप मात्र लगायौ नपग्लिएकोमा प्रिय मान्छे,
बुझेनौ पथ्थर पूजा, घिउ मह नढोली गर्न जान्नु पर्छ।

एउटा लास सम्म राम्ररी थन्क्याउँन आउँदैन तिमीलाई,
यहाँ मुटुको अन्त्यष्टी नगाडी,नपोली गर्न जान्नु पर्छ।

दुखेँ थाहा पाएपछि यौबन यो खाली माटो रहेछ!!
मुर्छा परेँ जानेर जिन्दगी घाउहरूको खाटो रहेछ!!

उ श्वास हो मेरो तड्पी रहेँ म उस्को पलायनतामा
रेटिएपछी पिरतीको घाँटी बुझेँ सम्बन्ध फाटो रहेछ।

फुस्रो आधुनिकतामा अन्धो भै खसेपछि चुचुरा देखि
बुझ्छ मान्छे अध्यात्म जिन्दगीको स्वर्णिम पाटो रहेछ।

घरबारको लङ्का जलाउछ सङ्काको राकोले
बुझ्छ मान्छे विश्वास छानो जोगाउने भाटो रहेछ।

बुझ्नु जरुरी छ हतारका मान्छे जति दौडिए पनि
आखिर गन्तव्य मुखी एउटै अनन्तको बाटो रहेछ।

प्राण दाउमा राखेर कसैको दिन चलाउनु पनि केही रहेछ,
मृत्युशैयामै जिन्दगीको सपना सजाउनु पनि केही रहेछ।

करोड कमाएर पनि के गर्नु खै, लिएर जान नमिले पछि,
अलिकति ठाउँ हजुरको दिलमा कमाउनु पनि केही रहेछ

निसाना चुकेको मट्याङ्ग्रोले केही नभनेर नै धेरै भन्यो,
कसैलाई जिताउँन आफैंलाई हराउनु पनि केही रहेछ।

निलो खुलेको आकाशले सोध्यो के छ हालचाल मनको,
सिङ्गो अस्तित्वनिम्ति आफैंलाई मेटाउनु पनि केही रहेछ!

के भएका हामी,डुब्यो नदीलाई दोष,लड्यो बाटोलाई ,
बुझेर थोरै,जिन्दगीलाई निर्वाण पढाउनु पनि केहि रहेछ।

जिन्दगीलाई ब्युँझाउने अलाराम छुट्टीमा छ,
पुकारौँ ईश्वरलाई भने,पुरै धाम छुट्टीमा छ ।

सके जति पोको पार्नु,भाग लाउनु मेरो पनि,
भँडार रित्तिए केहि हुन्न,मेरो नाम छुट्टीमा छ।

दूर -दराज बाट मन तिम्रै नाममा लेखेको छु,
के मा बन्द गरि पठाउँ भन,खाम छुट्टीमा छ।

विकल्प छैन धुम्मिएको आकाश स्विकार्नुको,
जसरी मन कठ्याङिग्रएको छ,घाम छुट्टीमा छ।

सरकार भन्छ घरमै बस,मर्नु हुन्न महामारीले,
भोकमरीले मार्छ कि परिबा,दाम छुट्टीमा छ।

सोच्दैछु मन छातीको छालाले किन नछोपिएको होला,
कहाँ पुग्नु होला यो आँशु बग्दै,किन नरोकीएको होला?

माछालाई तलाउ छेउका सबै मानिस माझी लाग्छन् ,
कोही उसैलाई नियाल्न आउँछ,किन नसोचीएको होला?

बोत्तलको बिर्कोमा जिन्दगी राखेर हरेक साँझ मर्छ उ,
किन हार्छ, बहाना जिउनुको किन नखोजिएको होला?

हारालुछ देखिन्छ फूल टिपी महल सजाउनेहरुको मात्र,
बर्सौदेखि नै भुँड्कोमै छ बिउ किन नरोपिएको होला?

मलामी बेचेर जिन्दगीको ब्यापार गर्नेहरुलाई सोध्नु छ,
चितामा जम्मा हुने खरानी यो किन नजोखिएको होला?

हरुवा जुवाडे मै बनि दिउँला तिम्रो शान रहनुपर्छ,
तिम्रै खुसीको लागि आडैमा मेरो चिहान रहनुपर्छ!!

स्वार्थी भई नसल्बलाउँ गाउँ शहरमा,सलह जस्तो,
जानीजानी मृत्यु नभित्र्याउँ घरको ध्यान रहनुपर्छ!!

बेश्या, कामिनी,रातकी रानी, सबै मै बनी दिउँला ,
तिमी दिब्य पुरुष !समाजमा गुणगान रहनुपर्छ!!

बिन्ती!मेरो लाश नजलाइदिनु ,सुरक्षीत गाडिदिनु ,
उनको हाँसो सुन्न चिहानमै भए पनि कान रहनुपर्छ!!

जुटेर होइन समाजिक दुरी थोरै राखेर प्रयास गरौं,
विषम घडीको बाबजुद मानव पहिचान रहनुपर्छ!!

रोज जुनको अघि तारा हार्छ,नौलो लाग्दैन,
बाज पनि कम्जोर परेबी मार्छ,नौलो लाग्दैन!!

सम्हालिएर उक्लिएनौँ भने पाईला पाईलामा,
भर्याङ्गले नै मौका छोपी झार्छ,नौलो लाग्दैन!!

चोट अनि घात स्विकार्दै थामेको हुँ हात उनको,
धर्म हो मायाको मर्नु न मार्नु पार्छ,नौलो लाग्दैन!!

शहर अघाएपछी खोकीले बुढो दम्पतीको यहाँ,
सकि-नसकी गाउँमा छाप्रो बार्छ,नौलो लाग्दैन!!

हो! पढ्नेहरुलाई मजा आउँछ पीडा लेख्न सके,
के थाहा!मोक्ष मन अक्षरमा सार्छ,नौलो लाग्दैन!!

मन भारी भएर होला तनमा ,गरुङ्गो लाग्छ कपास पनि,
देखेँ आकाश रुँदा ,धर्ती रुँदा सँगै रोयो मधुमास पनि!!

मलाई तिम्रै अङ्गालो स्वर्ग लाग्थ्यो हिजो अस्ति सम्म,
डर लाग्छ सामीप्यतासँग आज नपठाउ आभास पनि!!

कालो बादल हटेर जान्छ,आशा डगमगाउन हुन्न हाम्रो,
निभ्दा मनको ज्योति सक्दैन उजिल्याउन प्रकाश पनि!!

उन्मत्त उँडेको पन्छी हेरेर टोलाइ रहे आँखाहरु बिबस,
के गरुँ निसास्सिँदो पिँजडा बन्यो आफ्नै आबास पनि!!

आफू बाँच्ने होडमा यति टाढा पुगेछौं मान्छे हुनबाट नै,
मलामी सम्म बन्न सकेनौ,गरुँ मानबताको तलास पनि!!

यहाँ पश्चिम र पुर्बको सङ्गम सजिलो छैन,
बाँच्दै मर्दै गर्न पनि हरदम सजिलो छैन!!

सामाजिक दुरी बढिरहँदा हामी मान्छेमा,
खोज्नु छ मन नदुख्ने मल्हम सजिलो छैन!!

म टाढासम्म जान्छु,रगत बेच्छु, खुसी किन्छु ,
बन्धनको खाउ भन्छौ कसम, सजिलो छैन!!

खरानी बरु पोलिरहँदा सकिएला समयसगै,
मनको खिल के गरुँ,पुर्न जखम सजिलो छैन!!

आमाकै मुहारमा तेजाब छर्ने कुपात्र देख्नु पर्यो,
के गरुँ भन्नुहोस्,तह लाउन अधम सजिलो छैन!!

गजल (रचनाकै रूपमा लिनुहोला) यस्तै आयो आज)❤️❤️🙏🙏

नयनभरी आइरह्यौ आँसु बनी झर्दै सम्झिरहेँ तिमीलाई ,
सास रोकिए झैं भयो छट्पटीमा पर्दै सम्झिरहेँ तिमीलाई!

मुढो झैं लडिरहेकै थिएँ म, तयारी बिदाईको चल्दै थियो,
ठेलिए याद मिलनको एक एक गर्दै सम्झिरहेँ तिमीलाई!

यो छट्पटीमा,यो स्मशानमा,यो अन्धकारमा रुँदै थिएँ,
भयले घाँटी थिच्यो आमा मर्दा -मर्दै सम्झिरहेँ तिमीलाई!

छट्पटी कम हुँदै थियो, ढुकढुकी सुनिन छोड्यो अब,
धड्कनले मुटु छोड्यो,चितामा सर्दै सम्झिरहेँ तिमीलाई!

जीन्दगी फर्माइस गरिरहन्छ ,भन्छ तैँले सुन्नु पर्छ,
लात्ती नलाईकन एकै बिछ्यौनामा भन्छ सुत्नु पर्छ!

तिम्रो चोटले गुन गर्‍यो यति धेरै निखारेर मलाई,
राम्रै भयो चामल निकाल्न पनि त धान कुट्नु पर्छ!!

अग्लो हुन कहिल्यै कुर्सीको लोभ लागेन जीवनमा ,
बुझेर सत्य, उचालिएकाहरुले नै प्राय झुक्नु पर्छ !!

नभुल्नु देखेर यी नयाँ ,पुराना घाउ ,बानी परिसक्यो ,
जाउ तीम्रा सपना होलान्, गन्तव्य होलान् पुग्नु पर्छ !!

साथी हो घुँडाको धुलो झार्दै गरौंला,रुदै गरौंला पछि,
आफन्त आउँन सक्छन्,देख्न सक्छन्,उठ्नु पर्छ!!

सर्प किन घर छोड्थ्यो दुध पिलाउनेलाई डसेकै छैन,
थोरै चिमोट्दैमा दुख्यो र मुटु? पख आरो धसेकै छैन!

सुहाग रातमा सुहाग भन्छन् शिर चाहिन्न, राख मुटुमै,
सुहागन भन्छिन् शिरमै बस,पहिले कोहि बसेकै छैन!

भ्रष्टहरु हो नसोच तिम्रा धुर्त्याँईले बचाएको छ तिमीलाई,
तिम्रा छातीमा बजार्न जनताले अझै मुठ्ठी कसेकै छैन!

पढाईमा अब्बल भएकै भरमा जागिर पाउलास् र छोरा?
हाकिमलाई जदौ गरेकै छैन,कहिल्यै चिल्लो घसेकै छैन !

लुकेर,खुलेर कार्यकर्ता पाल्नुस् चुनाव जितिन्छ नेताज्यू ,
चिन्ता नलिनुस्,गरिबका झुपडीमा कहिल्यै पसेकै छैन!

पूरा नभै मर्यो सपना ,चिता सजाएर आएँ ,
चिर्पट यो जिन्दगीको घाटमा बिसाएर आएँ!!

ए जिन्दगी! तँ काँडा बनिदिँदा, दुखेको छु धेरै,
उनको आँखाको नानी म,आज बिझाएर आएँ!!

मुक्ती पायौ!तिमीले ढुकढुकी यो सुन्न छोडेदेखी ,
तिम्रा पदचिन्ह मुटुमा नछुटुन्, दूर पठाएर आएँ!!

प्रिय! लेखान्त मेट्न निधार फुटाउन नसके पछि,
अन्त्य जिन्दगीको सुझ्यो, मृत्यु बोलाएर आएँ!!

खहरे म,तिम्रै बगर भएर बग्न नपाए पछि यहाँ,
मिसिएँ सागरमा,आफ्नै अस्तित्व मेटाएर आएँ!!

दुखको बर्षा हुँदा तिम्रो जिन्दगीमा,म छानो बनिरहेँ !!
तिमी धार बनी रेटिदिन्थ्यौ,तिम्रै लागी अचानो बनिरहेँ!!

पहाड सकिएर समथर आयो तिम्रो जिन्दगीमा खुशी छु,
एक्लै हिड्छु भन्यौ प्रिय,तिम्रै इक्षामा बिरानो बनिरहेँ!!

तिमी मेरो मनको मान्छे ,खुशीले राखेँ मनको आसनमा,
तिमी इश्वर जस्तै पुज्य भयौ,म पुजिरहेँ,सानो बनिरहेँ!

जन्म देखि नै छैन,यहाँ म भाग्यमानीको,आफ्नै परिचय,
जिबनका भिन्न कालखण्डमा भिन्न भिन्न फलानो बनिरहेँ

बाटो हो कि ढुङ्ग्यान यात्राको पाइलै पिच्छे घाउ लाग्छ,
खेलिरन्छु जिन्दगीको जुवा सोचेर भाग्यको दाउ लाग्छ!!

मन्दिर भेटिएपछि मात्र त पुजिने हो भगवान पनि यहाँ,
कुँदिदै गर्दा शिरमा घन लाग्छ,शिल्पकारको पाउ लाग्छ

आफ्नो सपनाको लोटा नभरी तिम्रो खुसीको गाग्रो भरेँ,
रित्तिएर आफू जीवन भर्नुको पर्याय रहेछ माउ,लाग्छ!

पाउले धर्ती छुन पाए !मुटु सम्म पुग्दो हो स्पर्श ममताको,
र पो थाहा पाउँथे बडाको भिडले आमाको भाउ, लाग्छ!

मेरै ढाडमा टेकेर प्रिय, जँघार तर्न मिल्ला नमिल्ला सधैं,
खोलो उहि रोज्नु पार गर्न,जहाँ साँघु छ या नाउ लाग्छ!

शृंगार हो ,सौन्दर्य होईन,लाली मेरो हजुर,
विना श्रृगार आएँ, नगर्नु गाली मेरो हजुर!!

ठुलो बङ्गला,हिरा ज्वारत चाहिँदैन मलाई,
मनको घरको,बनाउनु घरवाली मेरो हजुर!!

दिनभर जति उँडे पनि,पंछि बनी आकाशमा,
साँझ फर्कनु घर ,कुर्नेछु बनेर डाली मेरो हजुर!!

हर बिहानी हजुरकैलागि, म फुल्छु उमङ्गले,
सिन्चिनुहोस् मायाले बनेर माली मेरो हजुर!!

थोरै-थोरै सघाउनुहोस्, खेती लगाउनमा सधैं,
भित्र्याई दिउँला घरमा बर्सेनि बाली मेरो हजुर!!

गजल ३५

कति आँशु बगे सिरानीमा बताउला बिहानी यहाँ,
तिमी मुग्लानमै प्यारा फुल्नै पाएन जवानी यहाँ!!

तिमिले ढाँट्यौ के दु:ख मान्नु,क्षितिजले झुक्याउँछ,
झुक्याउँछ रङ बदलेर,स्वरुप बदलेर पानी यहाँ!!

बजारमा डिग्रि बिकेन,अस्मिता बेच्न नसके पछि,
निर्बिकल्प पाखो बेचेर किनेकी हुँ राहदानी यहाँ!!

आस्था,भरोसा शिवको पनि लाग्न छोड्यो मलाई,
तस्करी लुकाउन जब प्रयोग भयो गेरु,खरानी यहाँ!!

पाइलै पिच्छे यात्रामा ठेस लाग्छ,नङ मर्छ,मासु मर्छ,
मरिरहने शृङ्खला हो रहेछ लाग्छ,जिन्दगानी यहाँ!!

गजल ३४

सस्तैमा पाइन्छ अचेल अस्मिताको बजार लागेको छ,
दुनियाँले पागल भनेदेखि घरमा काँडे तार लागेको छ !

छोरा मेरो झुप्रो नभत्काउ सजिलै सास चल्छ यहाँ,
आतिन्छु! तिम्रो महलमा भ्रष्टाचारको खार लागेको छ!

सिमाना मिँचिदा, नाकाबन्दी हुँदा कता गायब थियो,
दम्पतीको झगडा उदाङ्गो पार्न अखबार लागेको छ!

सपनाहरु बुन्दा बुन्दै भत्किन्थे, आयौ सिलाइदियौ,
तिम्रो आगमन सँगै जीवनमा आयो बहार, लागेको छ!

आमा सुखले आउन नजानेर के भयो त हाम्रो झुप्रोमा,
अहिलेसम्म भित्रिएका दु:ख सजिलै पार लागेको छ!

गजल ३३

श्रद्धाले निहुरिएँ शिर रेट्यौ उठाएर आउ मलाम आउ ,
दाजु भाइ दुबै मार्यौ द्वन्दमा जुधाएर आउ मलाम आउ!

मृत्यु शैयाबाटै, आत्मकथा लेखेँ नछोई बिगतलाई,
खेस्रा सुम्पेको छु, छापामा बुझाएर आउ मलाम आउ!

कर्णधार देशको उ, बालक सहिद के हो जान्दैन थियो,
झडपमा पार्यौ ,मार्यौ आमा रुवाएर आउ मलाम आउ!

हाम्रो प्रेमले शहादत प्राप्त गर्यो तिम्रो धोकाको उपज,
शिर पर्दैन प्रिय थोरै मन झुकाएर आउ मलाम आउ,

गरीबको आँगनमा रातो बाकस देखेँ, रुवाबासी सुनेँ,
मोक्षदा !सपना मोक्षको सुताएर आउ, मलाम आउ,

गजल ३२

मनको चरु आस्थासँग होमेको छु हवनमा,
लगाउँछस् र ईश्वर मलम दु:खिका जलनमा!

दूर सुन्छु मधुर धुन मुरलीको,गित प्यारको,
चोखो माया साँच्न बस्ती छोडी सर्यौ कि त बनमा!

तिमीले बुझेको प्रेम फरक छ कि शँका लाग्छ,
किन आँखा निर्लज्ज अडिन्छन् भन यो बदनमा!

सुसाउँदो दरौँदीले बरु बाटो पायो निकासको,
चुपचाप थुनिएको छ पिडाको कोशी यो मनम!

तँ आईमाई होस्, अदृश्य डोरीमा अल्झिएकी,
नदेख्नु सपना उन्मुक्तिको, बाँच्नु सधैं बन्धनमा!

गजल ३१

आफैँ बसेको मुटुमा आरो धसेर गएका छौ,
याद चिरी नयनबाट तप्प खसेर गएका छौ!

उषाका आँखामा कायर देखिएका हौ तिमी,
निषामा सधैं अंगालोमा कसेर गएका छौ!

बाग हुँ म, हर दिन गुलाफ फुलाउँछु यहाँ,
तिमी खुसी खुसी उसलाई डसेर गएका छौ !

तिमीले त सम्झिएनौ घाम झुल्किए पछि,
म कसरी बिर्सौं रात संगै बसेर गएका छौ!

सुनाउँछौ सुन्दर घर सँसार छ ,तिम्रो आफ्नै
फेरि किन साँझ मेरै झुप्रो पसेर गएका छौ?

गजल ३०

घुरुक्क आग्लो खोल्यौ रातबीच आउने भन को थियो,
मेरी प्रिया तिमीले दिलमा सजाउने भन को थियो!!

पाउजुको झन्कार मिठो पछ्याउँदै तिमी समीप आई ,
मुघ्ध हुँदै तिम्रो अँगालोमा हराउने भन को थियो!!

बाचाबन्धन म सँग थियोे एता, सँगै बाँच्ने ,सँगै मर्ने,
भाग्यले सिउँदोको सिँदुर बन्न पाउने भन को थियो!!

प्रेमगीत सुम्पिएँ तिमीलाई, धुन म बनाउँदै थिएँ,
सङ्गीत भरेर अर्कै, तिमीसँग गाउँने भन को थियो!!

म चितामा जलिरहँदा सोध्यो भने आगोले निर्मोही ,
नढाँट, साँचो प्रेमको लास बनाउने भन को थियो!!

गजल २९

खडेरी छ साहित्यमा कहाँ छौ पारिजात आज!!
जीवन भोगाइ, उल्झनका गर्नुछ बात आज!!

ठाडो घाम जिन्दगीको, निशब्द सहिरहें सधैँ,
किन पोल्छ यति धेरै, चिसो जुनेली रात आज!!

समय खुकुरी बनी रेटिरह्यो, निर्मम अचानोमा!
रक्ताम्मे भै ढलेँ, चाखेँ चोटहरुको मात आज!!

फूललाई माया गरेँ, हरायो बोटबाट सुटुक्कै!
साथ निभाउन बस्यो डाँठ अनि पात आज!!

तिम्रै सपना टिप्न खोज्दा खसेकी हुँ ,खाल्डोमा,
उठ्न खोज्दा सकेनौ दिन, तिम्रा हात आज!!

गजल २८

सिस्नो ब्यन्जन,झुपडी नै महल लाग्छ ,शहर मन पर्दैन,
शत्रु छैनन् ,खाली आफ्नैले दिएको कहर मन पर्दैन!!

भुईँकै ओछ्यान सुरक्षित लाग्छ मलाई निदाउनलाई ,
बेकारमा अग्लो खाट किन्ने उनको रहर मन पर्दैन!!

विवाह पूर्व प्रेमले अपच , विवाहपछि अभाव प्रेमकै,
बिना अर्थ दिशा बदल्ने , मायाको लहर मन पर्दैन!!

संघर्षमा लुकेको हुन्छ सफलता, जीवनले सिकायो, असफलताको दोष अभागी खप्परकै ठहर मन पर्दैन!!

रातकी रानी ठूलो परिचय कमाएपछि, नाङ्गो समाजमा ,
आजभोली यो उज्यालो अनि उषाको प्रहर मन पर्दैन!!

गजल २७

पाठकलाई फरक पर्दैन, तिमी कवि हौ या गजलकार
मुटु छुने किर्ती लेख स्रस्टा, ल्याउ साहित्यमा बहार!!

देशै बेच्न तुलेका छन्, ब्यापारी, शिँह दरबार गल्लीछेउ,
सिक बेच्न ईमान, आत्म सम्मान, तिमी पनि हवल्दार!!

हिजो सडकको बास भएपछि मात्र बुझेँ ,श्रीमान मैले,
किन ऊनी घरजग्गा नामसारीमा गरिरहन्थिन् हतार!!

आफू जिएर, अरूलाई मार्नुको मज्जा हिजो चाखेँ,
जब साँझपख साथीले छिरायो बिभत्स रातो बजार!!

आकासिँदै थिएँ, पङ्ख फिँजाउँदै, अचानक तानिएँ,
सुनेँ ! कानेखुसी आफ्नाको, सकेसम्म माथीबाट झार!!

गजल २६

गरीव हुनुकै बिडम्बना जाडोमा उन बेचेकी हुँ,
एक छाक अलिनो जोर्न भान्साको नुन बेचेकी हुँ।

खाडीमा आफ्नै स्वास धरौटी राख्न पनि आमा!
टुटाएर बिश्वास, हजुरको कानको सुन बेचेकी हुँ।

जुन दिन औँशी उपहारमा दियौ ,लौरो भाँचिदियौ,
उसै दिन खुसी नामको ,म भित्रको जून बेचेकी हुँ।

लाटी भनी कति सजिलै तिरस्कार गरिदियौ प्रिय,
तिम्रै आवाज किन्न मैले आफ्नो धुन बेचेकी हुँ।

आमा लगायौ गुन अङ्गालेर भेटमा,टाँसेर छातीमा,
थोरै धन अनि विलास किन्न जन्मको गुन बेचेकी हुँ।

गजल २५

जाली भमरा रस फूलको चाखेर बेपत्ता भएको छ,
नकाब साथीकै थियो, छुरा धसेर बेपत्ता भएको छ।

सायद मन परिरहेको थिएन, साँपलाइ दुध मेरो घरको,
मौका मिलेछ आज,नयाँ काँचुली फेरेर बेपत्ता भएको छ।

ढुङ्गे भगवान! किन चुप छ्स्? शिर फुटाउँदै रुँदा, सृष्टि!
धोकामा सिन्दुर,उनको सिउँदो छाडेर बेपत्ता भएको छ ।

के सन्जिबनी छ कुन्नि त! अचम्म !यो अनुगमन नाममा,
सिन्चिनासाथ लास चिहानबाट उठेर बेपत्ता भएको छ।

आँधिले बगाएछ क्यारे,हिजो साँझ ,सपना परदेशिको,
आज श्रीमतीको खबर आमासँग सोधेर बेपत्ता भएको छ

गजल २४

तिम्रो यात्रा प्रेमको, रसिला यी ओठ चुम्न सम्मको थियो,
यौवनको प्याला पिएर, मिठो नशामा झुम्न सम्मको थियो

तिम्रै श्रृङ्गारका लागि भिरेँ ,बिल्ला परदेशीको,सोचिनँ,
यहाँ गन्तव्य यात्राको, तिमी अनि घर गुम्न सम्मको थियो।

एउटै सर्त अनि स्वार्थ मेरो प्रेममा प्रिय ,असीमित चाह,
तिम्रो मन अनि परेलिका परिधिमा घुम्न सम्मको थियो।

यात्रा बिदेशको थाती राखेर फर्किए श्रवण कुमार,सोच्दै,
कर्तब्य ,बिरामी आमा, पिँडीमा प्रेमले रुङ्न सम्मको थियो।

मृत्यु -शैयाबाटै सोच्यो उसले,को आफ्नो ,को पराई यहाँ,
श्रीमती घरमै छुटिन् ,छोरो आर्यघाट पुग्न सम्मको थियो।

गजल २३

भनी रहेँ विश्वासको धरो टुटेपछी,सुन्दर घरबार हुँदैन,
छोरो सहर पसेदेखि,बुढा बाको गाउँमा स्याहार हुँदैन।

स्टेचर नै घारो बन्छ,कात्रो बन्छ,सकिँदा जिबन बाटोमै,
न डक्टर छ,न एम्बुलेन्स आउँछ,गरिबको उपचार हुँदैन।

बेमौसमी फूल बनी झर्यौँ भने,पश्चिममा हामी आफैँ,
पूर्वीय हाम्रो दर्शन,भेष भुसा बचाउने केही आधार हुँदैन।

सिँउदो पुछिएपछी नै, बोक्सी कहलाइन् सुँदार्नी आमा,
मानबता मरेपछि बस्तीमा,सत्यको कुनै सन्सार हुँदैन।

चुनावी माहोल नै कुर्नुपर्छ,नागरिकता पाउन देशको,
खसेपछी मत,तिमी नागरिक हुँदैनौ,तिम्रो सरकार हुँदैन।

गजल २२

इक्षा धरामा कुद्न सकिनँ हात पयर तोडिएको थियो,
मेरो घर जल्नुको यथार्थ,गजल बनि मोडिएको थियो!

गाई जस्तै गधा देखें या गधा जस्तै गाई ,बहुरुपीलाई,
नकाब यही मुटुको, उसको अनुहारमा जोडिएको थियो!

जिबन फेरि फूलेन,फलेन जब निर्मम उखेलियो जरा,
खुशी बेढाइ फ्याकेर, आँशु मल जलमा गोडिएको थियो!

फुटपाथमा मागिरहेकी आमा चिनेन सन्तानले, के गर्नु,
ऊ पनि अबोध, हिजो यहि सडकमा छोडिएको थियो।

गजल २१

तिमी कसैको साथ चाहिँदैन भन्छौ जीवन चलाउनलाई
लासलाई पनि कुनै हात चाहिन्छ चिता सल्काउनलाई

मनमै फुलेको थुङ्गा तिमीले त रगतपच्छे बनाइदियौ
काँडासँग के गुनासो उम्रिएकै ऊ कोतर्न ,दुखाउनलाई

तिमीलाई मुक्त गरिदिएँ तिम्रै चाहना बुझेर हो प्रिय
अन्तिम उपहारमा मागेँ भने सक्छौ र मृत्यु पठाउनलाई?

मुटुको अँध्यारो कोठामा तिमीलाई लुकाएर राखेँ
सोचेर सजिलो होस् मेरो हिरा अँध्यारोमै जगमगाउनलाई

यादको डँढेलोमा आँखा दमकल,आँसु पानी बन्न सकेन
खरानीमा एक झिल्को याद बाँच्यो मन जलाउनलाई

गजल २०

घाम झुल्किएन तर आकाश प्रतीक्षामा अल्झियो,
धड्कनले धड्कन सुनेन, आँखा झरी भै बर्सियो ।

एउटा सिटामोल नपाएर बिहान बितेका हुन् बा,
के अर्थ बेलुका छोरो डाक्टर बनेर घर फर्कियो।

हिजोमात्र मरेको हो,उसको छोरो खान नपाएर,
गाउँ मानुचामल लिएर आयो आज, भँडार भरियो।

सिँउदो रङ्गायो हिजो,आज भन्यो बेहोस थियो उ,
सोचेँ पसलको फिर्ता माल हुँ, भाग्य यस्तै थियो ।

जब तिनपाने पनि हार्छ, उन्माद ओठका अघि,
लाग्छ प्रेम मात्र बासना बनेर रहरमा अडियो।

गजल १९

भेटिएन ओखती न भेटीयो सिलाउने सियो
फाटेको मन टाल्ने बहानामा आज फेरि पिईयो।

दाउराले बरु आफ्नो कर्म पूरा गर्यो लाश जलाएर
आफ्नाले खोजेनन् हत्या या आत्महत्या थियो।

साथै रहे रहन्छ अस्तित्व ,नत्र पल भरमा बद्लिन्छ
आँशु भने सबले मायालाई जब आँखाबाट पोखीयो।

मान्छे मात्र हो कर्तव्यको हिसाव किताव खोज्ने
सबै सुते पनि घरको रखबारीमा बलिरहन्छ दियो।

तिम्रो मायाको परिक्षार्थ गुमेको होला मेरो दृस्टि
तिमी अनुत्तीर्ण भयौ , शिर झुक्यो, दुखिरह्यो हियो।

परिबर्तन भनेकै मृत्यु रहेछ क्यारे, क्रान्तिका नाममा
हिसाब भएन कति शिर गिँडिए, कति सिंउदो पुछियो!

गजल १८

जब आफ्नै अक्षमा घुम्छ धर्ती सधैँ जेल जस्तो लाग्छ
पाइला चिप्लिँदा घरीघरी गोरेटो नै तेल जस्तो लाग्छ

तिमी छिरेपछि मनमा,ढोका ढप्क्याएँ लाग्यो , लुकाएँ,
भेटियौ अर्कै मन-बगानमा ,भयो ठुलै झेल जस्तो लाग्छ !

भुइँ सुन्दर पार्ने भन्दै फूल निर्मम च्यातिएको देखेँ,
योजनाकारका योजनामै छैन कुनै तालमेल जस्तो लाग्छ

साँवा ,ब्याज र स्याजको हिसाबमा घर लिलामी भएपछि
न मर्न सक्छु,न बाँच्न सक्छु जिन्दगी नै नेल जस्तो लाग्छ

बाचा भुल्यौ, कसम तोड्यौ ,खाली एउटा हात काँटिदा
आज भोली नाता सम्बन्ध लुकामारी खेल जस्तो लाग्छ

गजल १७

जुनसंग माग्दिन तिम्रा लागि मधुमास मेरी हुन्छ्यौ हुँदिनौ
तिमी निराश भै दुख्दा बन्न नसके आस मेरी हुन्छ्यौ हुँदिनौ?

सन्ध्या हुँ म धुमिल- धुमिल सधैँ,उज्यालो के हो जान्दिनँ
बन्न नसक्दा प्रभातकालीन प्रभास मेरी हुन्छ्यौ हुँदिनौ?

म धर्तीको धुलो,हजारौंले कुल्चिएका,तिम्रो रहर अग्लो
बन्न नसक्दा भर्याङ्ग ,चुम्न आकाश मेरी हुन्छ्यौ हुँदिनौ?

मेरो च्यात्तिएको ढाका टोपी , बाका चिरिएका कुर्कुचा ,
तिम्रोआफन्तमा बन्न सक्छ उपहास मेरी हुन्छ्यौ हुँदिनौ?

बर्खा भरी छानो चुह्यिरह्यो ,हिँउदोमा पस्छु होला मुग्लान्
चिर निद्रामा निदाउने थलो बन्ला प्रवास मेरी हुन्छ्यौ हुँदिनौ?

गजल १६

लुटेरा कैदी होइन महामयी सरकार बन्यो के गरुँ,
आलो घाउमा मलम छैन चोट समाचार बन्यो के गरुँ!

उता भिनाजु धुरी छाउन नसक्दा आँसु झार्दै विदेशिए,
नकचरो तन्नेरी छिमेकी दिदिको आधार बन्यो के गरुँ !

पर्दाको कापबाट सुटुक्क मन चोर्यौ,चोरिएँ खुशी- खुशी ,
अभीष्ट प्रेम नै आज मन छिनाल्ने तरबार बन्यो के गरुँ !

अपराधी सबै सिंह दरबारमै अटाएनछन्कि -कसो,
ठुलो खर्चमा शहरमा नयाँ कारागार बन्यो के गरुँ!

झुट अनि कलाकारिताको पनि सिमा हुन्छ नि हजुर,
यौबना भेटेपछि बुढो एका -एक कुमार बन्यो के गरुँ!

गजल १५

ढुक्क हुनु ,निशा सधैँ रहन्न ,आभा लिएर बिहानी अाउँछ,
बा मलाई चिन्न नसके बाकसमा म सँगै राहदानी अाउँछ

चंचले बालापन बा का काँधमा,रमाइलो सङ्ग बित्यो,
सोचिन कहिल्यै कर्तव्यको पहाड बोकि जबानी अाउँछ!

म गरिब हुँ बाले भनेनन् , देखेँ सपना के थाहा मलाई ,
सपनाका कंकाल जल्छन् मेरो भागमा खरानी अाउँछ!

जन्म देखी नै उहाँहरु सङ्गै जोडिएको छ अस्तित्व मेरो
बेनामी म,बिचरा !परिचय समाजमा फलानी आउँछ !

तिम्रो संदेश पढ्छु नि म्यासेन्जरमा ,आभास गर्छु ,
जिवित छु ,लाग्छ प्रेमिल बाँणिमा जिन्दगानी आउँछ !

गजल १४

छिमेकी मलामी गएन पार्टीगत धारमा बिक्न थालेपछि,
अस्मिता लज्जित छ आमा नै सरकारमा बिक्न थालेपछि !

अब सिपाही पनि किन डराउँथ्यो खोक्रो अनुगमन सङ्ग ,
खुलम -खुल्ला हाकिमको इमान भन्सारमा बिक्न थालेपछि !

ऊ पागल भएको हो बाबाको बिबस विदेश बसाईमा,
आमा निर्लज्ज भै बजारका हजारमा बिक्न थालेपछि!

मलाई भोगाई पनि भ्रष्ट अनि स्वार्थी लाग्छ आजकल,
लत्याइ कर्म भाग्य नामको निधारमा बिक्न थालेपछि!

आमाको मुटु भित्र धड्किने आफैँलाई बिर्सीदियो उसले,
हिजो शहरमा भेटिएकी उनको प्यारमा बिक्न थालेपछि!

गजल १३

अंगालो पायो सडकेले रुन खुशी छ उ,
औँसीको रात चिरी आयो जुन खुशी छ उ !!

उ गरिब, दु:ख पखाल्ने साबुन थिएन ,
आँसुले सघायो रे मन धुन खुशी छ उ !!

आफ्नैले जुराएका हुन् मुहूर्त बिदाइको,
गल्लीमा बेवारिसे लाश हुन खुशी छ उ!!

भौँतारिदा सडकमा सधैँ थाकेको थियो ,
सुस्तायो, कालले लगायो गुन खुशी छ उ !!

जीवन घृणा र तिरस्कारमा बितेर केहि छैन,
मृत्युशैयामा फूल आयो अधर छुन खुशी छ उ!!

गजल १२

प्रेमिका मख्ख मण्डपमा ,स्वयम्बर चलेको छ,
प्रेमी एक्लै मलामी प्रितको लाश जलेको छ!

घुम्टोभित्र कि तिमी संग पनि डर लाग्छ मलाई,
आफ्नाको नकाबमा शत्रुले धेरै पटक छलेको छ!

पुजारी बाटै कुमारी बलात्कृत भएपछि मन्दिरमा ,
भगवान तेरो नामको विश्वासको धरा ढलेको छ !

छोरा यही छानोको बास देउ , यो बुढेसकालमा
कति दिन बाँचुँला जीवन मक्किएर ,गलेको छ!

सुन्दर मुहारमा नैतिकता बेचिए पछि आजभोलि ,
सलहले खायो आदर्श जताततै सराब फलेको छ !

गजल ११

बारिमा हलो देखिन्छ, हलि देखिन्छ , फाली देखिँदैन,
बिडम्बना पारिवारिक फोटोमा आफ्नी आमा भेटिँदैन !!

बुढी आमा कसरी भनुन् छोरी अनि बुहारी उस्तै हुन् ,
जब वुढेसकालमा बृद्दाश्रमको साइत उनैबाट छेकिँदैन !!

दाइले भाइलाई जित्ने होड चलेको छ पछारेरै भएपनी,
थाहा छ जित्नेकै लेखिन्छ इतिहास हार्नेको लेखिँदैन!!

मलाई प्रेम शब्द उच्चारणमा घृणा सङ्गै लाज लाग्छ ,
जब छोराको आँखामा आमाको माया छ कि हेरिँदैन!!

छोरोलाइ यही भनिदिनु गलत सिकायौ नातिलाई ,
चिन्ता छ उ बुढेसकालको तिम्रो लठ्ठी बनी उभिँदैन!!

गजल १०

वर्षौँ पछि आज तिमीलाई भेट्ने बहाना मिल्यो,
देखेँ सिँउदोमा सिंदुर यो कस्तो नजराना मिल्यो!!

मन मुटु बोकेर मिठो सपना तिम्रै सजाउँदै, आएँ,
बिपनामा आफ्नै तप्प दुइ थोपा आँसु दाना मिल्यो !!

बिर्सियौ एकै छिन शिशिर हुँदा म, तिमी निर्दयी भै ,
अँगाल्यौ बसन्त जिबनमा मीठो गाना मिल्यो !!

तिमी लाज पचाएर आज कामदेबकी कामिनी बन्यौ,
प्रेममा समर्पणको मलाई उहि पुरानो जमाना मिल्यो!!

मन अनि नयनको परिधि तोडि गयौ र पो बाहिर
खुसी तिम्रो भट्किलो जिन्दगी,चिची नाना मिल्यो।

गजल ७

राम्रो मान्छेको संगत गर्नु भनेर नै तिम्रो वर सरेकी हुँ ,
ढुकढुकी मै छौ ,बचाउँछौ धड्कन ,तिम्रै भर परेकी हुँ !!

खुकुरीलाई पनि त कर्द साथी चाहिन्छ नि बुझ न प्रिय,
सुहाउँ तिमी मै, हराउँ तिमी मै,यो मनमा रहर भरेकीहुँ!!

आमाको च्यातिएको मन कहिल्यै बिर्सिएको छैन मैले
यस्पाली बाको चिरिएको कुर्कुच्चा लेख्ने ठहर गरेकी हुँ!!

खाडीमा छोरो मर्यो , मुर्छित छिन् रे आमा ,यस्तो सुन्दा ,
पोलेको मनको घाउमा मलम लाउन बेसि झरेकी हुँ!!

जिन्दगी भागेर होइन भोगेर जीउने हिम्मत छ अझै ,
हिजो खडेरी पर्दा मनमा, आफैँ झरी बनि टरेकी हुँ!!

गजल ९

सोझो रुख नै जंगलमा पहिले काटिन्छ आजभोलि ,
मायाको मुल्य छैन यौवन पैसामा साटिन्छ आजभोली!

भन्दैछु खुसी मिल्दैन छुट्टिएर मुटु जोडिएकाहरु सँङ्ग ,
फेरिपनि सम्बन्धको हाँगा निर्मम छाँटिन्छ आजभोली!!

निन्द्रामा हिँडे ,सपनाको बडप्पनमा चिप्लिएँ ,दुखेँ ,हारेँ,
हिम्मतको पयो कस्दै विपनाको डोरी बाटीन्छ आजभोलि

चर्को घाममा भुङ्ग्रोको टुना भएँ भनुँ रुन्छिन आमा ,
नदी किनाराका हँसिलो फोटोले ढाँटिन्छ आजभोलि !!

शत्य रक्ताम्य छ ठेस लाएर ,चोट खाएर यो बस्तीमा ,
पचाउन सजिलो घुसखोरी उहि आँटिन्छ आजभोलि!!

गजल ८

मिठो होला ,नमिठो होला , बितेको पल सबैमा हुन्छ ,
जति नै कठिन होस् प्रश्न जिन्दगीको हल सबैमा हुन्छ!!

नबगाउनु मोती झैँ आँसु प्रिय ,सोचेर धोका भयो मलाई,
चोट दिएर दुख्यो कि सोध्ने आफ्नाको छल सबैमा हुन्छ!

जति घोकिए पनि ,घोकाइए पनि कथा समानताको ,
आकाश जमिन झैँ फरक अस्तित्वको थल सबैमा हुन्छ!!

नगिज्याउनुस् महासय मुटु जलेर रोएको भन्दैथ्यो उ ,
जिन्दगी दुखे पछी अनायासै आँशुको भल सबैमा हुन्छ !!

जब हेपेर आउँछ शत्रु सिमा नाघेर ,उम्लिन्छ रगत यहाँ ,
प्रतिरक्षामा बारुदको घेरा तोडि लड्ने बल सबैमा हुन्छ!!

गजल ६

आँखा बलात्कारी छन् , दोष छोटो घाँघरलाइ यहाँ ,
कोहि छ र रोक्न सक्ने ? चलिरहेको प्रहरलाई यहाँ!!

बीच वाटोमा एक्लै छाड्यौ ,पछुतोमा नजल प्रिय ,
आखिर नदी पनि त बग्छ छाडेर बगरलाई यहाँ!!

अपराध भयो होला झुपडीमा जन्मिनु गरिवको ,
सजायँ भोग्दै छु खाडीको जिन्दगीभरलाई यहाँ!!

जब इश्वर नै बहिरो हुन्छ ,सुन्दैन क्रन्दन भने,
देख्दिन दूध चढाउँनुको अर्थ पथ्थरलाइ यहाँ !!

मेरो देशको रीति गाई सधैं दाम्लोमै बाँधिनु पर्छ ,
छोडिन्छ सडकमा खुलम खुल्ला बहरलाई यहाँ!!

गजल ५

सम्झनामै टुकि बत्ति ,यहाँ बिजुली बालेर बस्दा ,
थाक्यौ होलि प्रिया तिमी अभाव सम्हालेर बस्दा!!

गलि होलिन् बुढी आमा ,लोलाए आँखा फेरि ,
छोराकै प्रतिक्षामा सधैं ,क्षितिज नियालेर बस्दा !!

कसरी शिर उठाइ हिँड्छौ , भ्रष्ट गद्दारहरु हो ,
आज आफ्नै इज्जतको धरहरा ढालेर बस्दा!!

आमा बेहोसिमै धिक्कार्छिन् आफ्नै गर्भलाइ,
सन्तान शकुनी अनि शूपर्णखा पालेर बस्दा !!

बिचरा गर्भे टुहुरो उ, बुझ्दैन बाबा के चिज हो ,
आफ्नी आमाले जबानीमै सिंदुर पखालेर बस्दा!!

गजल ४

गुलाब लिएर तिमी भेट्न मलाई आएर के गर्छौ
जिउन नपाएपछि संगै मेरै मुटुमा छाएर के गर्छौ!!

मृत्यु शैयामा देख्नु थियो एक झल्को, पाइन
फूल चढाउन शोक सभामा धाएर के गर्छौ !!

अब सुन्न सक्दिन म चिर निन्द्रामा जमिन मुनि
कोइली झैं स्वरमा गीत मेरा लागि गाएर के गर्छौ !!

सक्छौं भने फूल बनिदिनु बन्दुकका गोली हरुमा
रण भुमिमा ढलिगो देह ,अब माया लाएर के गर्छौ !!

म भन्छु अन्नको गेडो बनिदिनु भोकको कसौंडीमा
खाली सम्मानको पगरी शिरमा सजाएर के गर्छौ!!

गजल ३

तन परदेशमा याद घर~देशको बारम्बार आउँछ!!
धन चुनुँ या मन चुनुँ हर पल दोधार आउँछ !!

दिन नसक्दा आमालाई एक घुट्को सुनपानी मठमा
बाँच्नुपनि पनि ब्यर्थै रहेछ मनमा यस्तै विचार आउँछ!

हर स्वासमा तिमी नै तिमी भएर होला प्रिय मान्छे
संगीत बनी कानमा तिम्रा आवाजको झंकार आउँछ!!

परदेस आएर खाली आफन्त छुटेका हुन् महोदया
साहुबाट घर लिलामीको धम्की लगातार आउँछ!!

साथ छुटेर हो कि त्यो फाँट भन्ज्याङ चौतारीहरु हो
छाती भित्र छिरेर हेर आमाको असिम प्यार आउछ!!

गजल १

देश दुखेको बेला भो प्यारमा अब नझुलाउ मलाई!!
प्रीत बाँचेन हाम्रो,भो अब अधरमा नडुलाउ मलाई!!

म कसम खाएर देशको भैसकेँ ,तिर्न ऋण माटोको
भो प्रियसी मनको मझेरीमा अब नफुलाउ मलाई!!

आमाको छातीको गैरो चोट सँग हार्यो तिम्रो प्रेम प्रिया,
म प्रेमी रहिन, भो अब सम्बन्धमा नखुलाउ मलाई!!

सीमानामा स्वाधीनताका दस्तावेज बेचिंदै छन् रे
हतार छ ,बिन्ती तिम्रो आँशुमा अब नभुलाउ मलाई!!

देशले रगत मागे दिन्छु तयार भै हिडेको छु म यहाँ
प्रेम बियोगमा कम्जोर पारी भो अब नरुलाउ मलाई ।