शीर्षक : अनन्त रात

जीवन यात्रामा अबिराम फड्किरहेका कलिला पाइताला ,

प्रत्येक पाइलामा बास आइरहेको स्वासको मिठास।

अबोध बालापन , न चिन्ता ,

न जिम्मेवारीको बोझ ,

खेल , उत्साह मीठो बिपना

देख्ने बेला नै कहाँ भएको थियोे र

भविस्यको सपना ।

 

जीवनको कलिलो रुख ढल्नै लाग्दा ,

छट्पटीमा निसासिदै गर्दा

अज्ञात रहस्य स्वरुप

तिम्रो भागको अन्तिम स्वास बोकेर

सुस्तरी सुस्तरी

ऊ तिम्रो जिन्दगीमा आयो ,

काखैमा लेटाएर तिमीलाई दियो अनन्त रात !

 

जीवनको फूल झर्यो, ज्यान माथी फुल चढ्यो,

शरीर माटोको रहेछ , माटोमै मिल्यो।

आत्माले भर्यो अनन्त आकाशको उडान

हो त्यही दिन देखि तिमी हाम्रो अतित

अनि उसको बर्तमान बनेको ,

ए वैकुण्ठ बासी !

कस्तो छ हाल तिम्रो ?