शीर्षक : गन्तव्यको क्षितिज

निदाएको  मेरो चेतना बिस्तारै  ब्युझिँदै  छ
नियाल्दै छ गन्तव्यको क्षितिज 
जीवनका जिजीविषाहरु बीचका छिद्रबाट 
 र गर्दै छ प्रश्न प्रतिप्रश्न ,  प्रश्न भित्रै बसेर ।
 
धरमराईरहेका  पाइलाहरु,
अन्योल मिश्रित हिँडाइ ,
धुमिल -धुमिल दृस्टिको 
अचानक थोरै उज्यालोसँग पुनर्मिलन भएपछि ,
देख्न सक्छु सार्थकताको गगनचुम्बी 
र पलाएको छ चुम्ने उत्कण्ठा बेस्सरी 
खोप्नुछ समर्पणका सिँढीहरु 
तिमी पनि प्रेम गर्छौ थोरै भने ,
दिनु भरोसाको कान्छी औंला 
समाउँदै समाउँदै चढुँला म ।
 
बताससरि  उँडिरहने सपनाका भुवाहरु अब केन्द्रित छन्
अन्तस्करणमा  मुस्कुराईरहेको तिम्रो भव्यतामा  ,
बरालिइरहने रहरको हावाले विश्राम पाएको छ 
एकछिन गर्न खोज्दैछ प्रेमालाप एकान्तमा 
बस् ! यो हृदयको खोपी भित्रै तिमी बसिरहनु ।
 
हेरेर परसम्म बिक्षिप्त क्षितिजलाई सुटुक्क बर्सिन्थे नयन 
अब पाएको छ तिम्रो विशाल छाती 
जहाँ ज्यान छाडेर लडीबुडी गर्न सक्छु 
चाहेँ भने 
रुन सक्छु म आफ्नै छाती पिटिपिटी 
खुल्ला आकाश मुनि 
अनि हाँस्न सक्छु उन्मुक्त हाँसो
आफैं समेतलाई बिर्सिएर । 
सारा संसारकै ठेक्का लिएको मन 
तिमी मै केन्द्रित छ
लाग्छ !  अब तिमी ! मात्र तिमी ! भए पुग्छ ।
 
लेख्न छाडेर  कथा मुर्छित सपनाहरुको 
रोकेर चाल निरस , निरर्थक यात्राको 
पाइलाहरु अब लम्किउन् 
अजर  अजम्बरी प्राप्तिको गोरेटोमा 
तिम्रै प्राप्ति खातिर 
चाहे जति दूर  हौ तिमी 
चाहे जति ढुङ्ग्यानहरु हुन् गोरेटोमा 
यी पाउ क्षत बिक्षत गर्न ! 
मस्तिष्कले अप्ठ्यारो रहेछ बाटो 
गन्तव्य भुलिदे भन्नु भन्दा पहिले ,
मुटुलाई भनिदेओस् 
पुग्यो ! अब धड्किन बिर्सिदे ।
जीवन भर म प्रेम आरती गरिरहन्छु प्रिय आराध्य !!