शीर्षक : ब्ल्याक होल
गीतामा छैन , भागवतमा छैन ,
महाकविको महाकाव्यमा छैन
शेक्सपियरको सनेटमा छैन
भौतिक बिज्ञानको नियमले समेट्न सक्दैन
तर अस्तित्वमा छ ब्ल्याक होल
यानेकी कृष्ण छिद्र ।
जसरी सम्बन्धको परिभाषामा
कतै भेटिदैँनौ तिमी
र पनि
मेरो मुटुको ग्यालेक्सीमा
एम 87 भै बसिरहन्छौ।
ब्ल्याक होल भन्ने बित्तिकै
हजुरलाई लागेको छ भने
अँध्यारो रङ्गको,
शान्त ढंगको हुनुपर्छ
गलत अन्दाज काट्नु भो !
यो यति त्रासदीपूर्ण छ नि !
आफ्नो गुरुत्वाकर्षणले तानेर
सारा रङ्गहरु स्वात्त निलिदिन्छ
नपत्याय हेर्नुस्
कसरी धपक्क बलेको छ यसको छाँया पनि ।
द प्वइन्ट अफ नो रिटर्न तिर तानिएका
मेरा खुसीका रोशनीहरु त्यतै विलीन हुन्छन्
किमार्थ खुल्न सक्दैनन् ओठहरु
आजकल भोकले बहुलाएको एम 87
जसरी भेटे जति ग्रह उपग्रह
निल्न मुख बाईरहेको छ नि !
लाग्छ
मेरो अस्तित्वको ब्रह्माण्ड निल्न
म भित्रको ब्ल्याक होल उति नै उद्दत छ ।
घटना क्षितिजमा
ठिङ्ग उभिएकि मलाई
आफ्नो आकर्षणको बलले
स्वात्त तानेर गुमनाम पारेको छ
म भित्रको ब्ल्याक होलले
मलाई उसको अंश बनाईसकेछ
” म” म हुनुको अर्थ मेटाईदिएर !
यहाँ मेरो मृत्युको मुल्य तोक्न मिल्छ ??