शीर्षक : दूरी

घरीघरी आउँछौ कल्पनामा
राखेर काखैमा बर्साईदिन्छौ
प्रेमको अविरल झरी
छुर्लुप्प भिजेर प्रेमरसमा
बाँधिन्छु क्षणभरमै तिम्रो आलिङ्गनमा
तब त !
सुनिन्छ मुटुको मिश्रित धड्कन एउटै लयमा
ढुक -ढुक ! ढुक – ढुक ! ढुक-ढुक !!

यो कस्तो सरगम हो , पहिले कहिल्यै नसुनेको
यो कस्तो , कस्तो मदहोसी हो तिम्रो अँगालोको
लिँदै लामो लामो श्वास ,
म बाँच्न खोज्छु मेरो भागको सम्पूर्ण जीवन
यही मदहोसीमा ।
र मन मनै भनिरहन्छु
अब त !
अब त! म पनि मिसिएँ तिमीमा ।।

हठात् ! म कल्पनाबाट बाहिरिन्छु ,
अनि तिमी म बाट ,
म हराउँछु , तिमी भेटिन्छौ ,
तिमी हराउँछौ, नचाहेरै म भेटिन्छु
यो दूरी मेट्न के गर्नु पर्छ प्रिय ?