शीर्षक : नकाब

न्वारानमा राखिएको न्वारने नाम ,  
बिध्यालय भर्ना हुँदा  राखिएको बोलाउने नाम 
कुनैले पनि 
हाम्रो वास्तबिक चिनारी नदिएपछि र 
पत्याउनै गार्हो  हुने गरि 
सम्बन्धका  नाम  समेत झुटा  ठहरिएपछि , 
झुटको पराकाष्ठा सहन नसकी
जान्ने भए  देखि नै लागेको छु , 
सुचिकरणमा नयाँ नामाकरणको ।
 
कुरा नजिकैबाट शुरु गरौँ
ठेलमठेल गरेर बगेको आँसुको खहरे 
सकी नसकी घुट्क्याउदै 
अबरुद्द गलाबाट मधुर आवाज , 
खुब मृदुल लवजमा 
मुस्कानको लाली लगाएर 
जब , फुत्त निस्कियो आमाको अधरबाट 
अवाक भएँ म 
र बाचा गरेँ आफैँसँग  
निकालेरै छोड्नेछु 
नक्कली मुहार भित्र लुकेको  सक्कली अनुहार ।
च्यातेरै छाड्नेछु झुटको पर्दा  र देखाइदिनेछु 
अंध्यारोमा लुकेर बसेको
नग्नतालाई।
 
नियाल्न थालेँ समाज, 
र 
यसरी  गरेँ सुचिकरण, 
ढोँगी , 
बलात्कारी, 
ब्यभिचारी , 
घुस्याहा यस्तै धेरै , 
लामो सुचि तयार भयो , 
अझै लामो लाम छ 
बस्तीमा  परिचय सनाखत हुन बाँकी  मान्छेअरुको ।
अबिछिन्न खटेको खट्यै छु 
हजुर पनि थोरै सघाउनुस्न है 
म यिनका सान्त सौम्य र सुन्दर मुखौटो भित्रको
कुरुप नग्नताको उत्खनन गर्छु , 
हजुर यिनीहरुको न्वारन गर्दिनुस् है।
 
दिन दुखीको सेवामा अहोरात्र खटिने भनिएका
खटिरे मुखिया 
लोग्ने परदेश गएको साँईलीको झुप्रोमा 
समसाँझै छिरेदेखी मिर्मिरे सम्म निस्किएनन् 
कुन नाम जुर्छ उनलाई ?
 
साठी कटेको ,  झुर्सुक्क सेतो दारीमा  मुस्किलले उभिएको 
जीर्ण मान्छे देशै बोक्छु भन्छ ,
यस्ता गुदि र गिदी बिनाका गफाडीलाई 
बोक्रे भन्न मिल्छ कि नाई ?
 
विबेकको फ्युज उँडेको न्यायाधीशलाइ 
के नाम दिने ? अलमल्लमा छु।
 
सेतो कोटमा अस्पतालमा देखिने , 
मान्छे भएर पनि भगवानकै पद पाएको 
त्यो मान्छेले मान्छेकै मुटु बेच्छ रे 
लौन के नाम दिने उसलाई ?
 
चक  डस्टरमा कक्षामा छिर्ने   
अर्को भगवान 
वासनाको लामो डस्टरले 
मेटिदिन्छ रे अस्मिताका  सुडौल अक्षरहरु 
मेरो मस्तिस्कले भ्याएन उसको नाम जुराउन ।
 
सृष्टिकी देवी पद राम्रै पाएकी छिन् 
भलै जन्माइन् एउता सन्तान  वासनाको आगोमा जलेर ,  
आजकल भ्रुण हत्यामा माहिर  छिन् रे के नाम सुहाउला 
यो बिराट सत्यलाई।
 
ए साँचै !
के नाम दिने मेरी झुटी आमालाइ , 
सुरुमै कुरा गरेकी थिएँ नि  सम्झिनुहुन्छ ?
अलकत्रा चपाए भन्दा पनि गार्हो  रहेछ नि
यो नाम दिने काम ।
 
जे होस हरेस  खानु हुन्न ,
आउनुहोस यी शीर्ष मान्छेहरुका शीर्ष नाम लिएर, 
खोपिदिउ ट्याटु यीनका निधारमा , 
र जोगाउँ , 
सोझो बिरामीलाई अस्पतालबाट 
सात बर्से बालिकालाई बलात्कृत हुनबाट
अनि 
कैयन सृष्टिकर्तालाई 
आमाकै गर्भमा निमोठिन बाट