शीर्षक : गन्तव्यको क्षितिज
निदाएको मेरो चेतना बिस्तारै ब्युझिँदै छ
नियाल्दै छ गन्तव्यको क्षितिज
जीवनका जिजीविषाहरु बीचका छिद्रबाट
र गर्दै छ प्रश्न प्रतिप्रश्न , प्रश्न भित्रै बसेर ।
धरमराईरहेका पाइलाहरु,
अन्योल मिश्रित हिँडाइ ,
धुमिल -धुमिल दृस्टिको
अचानक थोरै उज्यालोसँग पुनर्मिलन भएपछि ,
देख्न सक्छु सार्थकताको गगनचुम्बी
र पलाएको छ चुम्ने उत्कण्ठा बेस्सरी
खोप्नुछ समर्पणका सिँढीहरु
तिमी पनि प्रेम गर्छौ थोरै भने ,
दिनु भरोसाको कान्छी औंला
समाउँदै समाउँदै चढुँला म ।
बताससरि उँडिरहने सपनाका भुवाहरु अब केन्द्रित छन्
अन्तस्करणमा मुस्कुराईरहेको तिम्रो भव्यतामा ,
बरालिइरहने रहरको हावाले विश्राम पाएको छ
एकछिन गर्न खोज्दैछ प्रेमालाप एकान्तमा
बस् ! यो हृदयको खोपी भित्रै तिमी बसिरहनु ।
हेरेर परसम्म बिक्षिप्त क्षितिजलाई सुटुक्क बर्सिन्थे नयन
अब पाएको छ तिम्रो विशाल छाती
जहाँ ज्यान छाडेर लडीबुडी गर्न सक्छु
चाहेँ भने
रुन सक्छु म आफ्नै छाती पिटिपिटी
खुल्ला आकाश मुनि
अनि हाँस्न सक्छु उन्मुक्त हाँसो
आफैं समेतलाई बिर्सिएर ।
सारा संसारकै ठेक्का लिएको मन
तिमी मै केन्द्रित छ
लाग्छ ! अब तिमी ! मात्र तिमी ! भए पुग्छ ।
लेख्न छाडेर कथा मुर्छित सपनाहरुको
रोकेर चाल निरस , निरर्थक यात्राको
पाइलाहरु अब लम्किउन्
अजर अजम्बरी प्राप्तिको गोरेटोमा
तिम्रै प्राप्ति खातिर
चाहे जति दूर हौ तिमी
चाहे जति ढुङ्ग्यानहरु हुन् गोरेटोमा
यी पाउ क्षत बिक्षत गर्न !
मस्तिष्कले अप्ठ्यारो रहेछ बाटो
गन्तव्य भुलिदे भन्नु भन्दा पहिले ,
मुटुलाई भनिदेओस्
पुग्यो ! अब धड्किन बिर्सिदे ।
जीवन भर म प्रेम आरती गरिरहन्छु प्रिय आराध्य !!