कथा हत्या

कथेका कुरा मात्रै कथा हुन्छन् भने म आज कथा लेखिरहेकी छैन , खाली मेरा स्मृति बिस्मृतीका बही खाता पल्टाउँदै गनिरहेछु मेरा माफीका लायक नभयका निर्बाध निकृस्ट अनुत्तरदायी हर्कतहरु माग्दै आममाफी , क्षमा याचना स्वरुप नै पेसेको छु यो 

मध्य पहाडी क्षेत्र देखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको सतीघाट  गाउँपालिका बूढीगण्डकीको काखमा मुसुक्क मुस्कुराई रहन्छ ।मेरो मावली गाउँ भएको र आफ्नो बाल्यावस्थाको धेरै हिस्सा त्यही बिताएकाले  होला समय र परिस्थितिले जहाँ जहाँ पुर्याए पनि मलाई यो ठाउँको सम्झनाले सधैँ पछ्याई रहन्छ ।

 गोरखा क्याम्पसमा स्नातक तहमा अध्ययनरत म सदरमुकाम कै एक  निजी विद्यालयमा अध्यापन समेत गर्दथें र स्वअध्यन मै पढाइलाई अघि बढाइरहेकै थिएँ ।यस्तैमा सतीघाट बजारमा  अंग्रेजी माध्यममा पढाई हुने गरि सामुदायिक बोर्डिङ स्कूलको स्थापना भयो र मलाई पनि यसमा अवसर प्रदान गरियो ।

 यतिखेर म आफुसँग भएको थोरै तिनो शैक्षिक अनुभव , खुल्दै गरेको ब्यक्तित्व साथमा दुइ काखे छोराछोरी लिएर सतीघाटको लागी निस्केकी थिएँ , बाटो भरी बाल्यकालको मिठो सम्झना , बिध्यार्थी जीवनका रमाइला किस्साहरुको बेग सँगै हुँइकिरहेका थिए गाँउ जाने बसमा। ऐले जस्तो पक्की बाटो थिएन ,  पानी जमेका खाल्टा खुल्टीमा बस फस्दथ्यो , बुढा , बुढी , काखे नानी र आमा बाहेक सबै जना बस बाट ओर्लिन्थे र होस्टे मा हैँसे गर्दै बस धकेल्थे र फेरि बसमा आएर बस्थे। हरिया फाट ,  तरेली परेका पाखाहरु , बाटोको दुबै तिर सानो जङ्गल जस्तो छिचोल्दै बस  सल्लेरी आइपुग्यो।

ब्यापारिक ,ऐतिहासिक महत्व बोकेको सतीघाट लाई हामी बजार  भन्छौँ ,नजिकका गाउँहरुबाट झारिएका माछा तरकारी बेचिन्थे यहाँ र किनिन्थे नुन , चिनी , जिरा मसला जस्ता बजारिया चिजबिज ।

मेरो मामाको घर माथि गाउँमा भएको र विद्यालय चाहिँ बेसीमा बजारमा भएकाले म मेरी आमा र दुई सन्तानलाई लिएर बजारमा एउटा घरमा डेरा गरी बस्न  थाले ।

 अत्यन्त उल्लासमय दिनचर्या थियो ,  मावली गाउको बिध्यालयकी अङ्ग्रेजी शिक्षिका थिए । हरेक बिहान नानीहरु बिध्यालय पुर्याउन आउदा आसा र भरोसा भरी नजरले नियाल्दै अबिभाबक हरु भन्नु हुन्थ्यो बक्चालाई राम्रो अङ्ग्रेजी सिकाउनुहोस है ,  म भित्र हुर्कदै शिक्षक मुसुक्क मुस्कुराउथ्यो र भन्ने गर्थ्यो अबस्य कोसिस गर्नेछु।  प्रतिउत्तरमा म पनि मुस्कुराउथे । यसरी हरेक दिन थप उल्लास सगै थप जिम्मावारीको  महशुस गर्दै थिएँ ।

विद्यालय सुरु भएको तेस्रो दिनको कुरा हो ,कक्षा पाँचमा अंग्रेजी बिषय पढाइ रहेकी थिएँ , बिध्यार्थीहरुलाई कक्षा कार्य दिएर कक्षा कोठाको झ्यालबाट नजर  डुलाएँ , नजर टक्क अडियो एक महिलामा , तीस -बत्तिस बर्षकी हुँदि हुन् , मैलो पहिरन , मलिन अनुहारमा देखिन्थिन् , तिनैको खास्टोको फेर समातेर अघि पछि गरिरहेकी थिइन् ६ -७ बर्षिय नानी ।

ति महिला समोसा पसलमा पस्न खोजिन् , साहुनिले हातको भाउ लगाएर बाहिर जाऊ भने जस्तो लाग्यो , मन मनै भनेँ एउटा समोसा दिएको भए के जान्थ्यो ! कक्षाकोठामै भावनाको डुङ्गामा डुबिरहँदा म , छेवैकी विद्यार्थी कुसुमको आवाज , ‘म्याम हजुरले त्यो लाटीलाई हेर्नु भएको हो ?’ ले , म झस्किएँ र सोधेँ ,उनी बोल्न सक्दिनन् ?

३-४ जना जो बजारमै हुर्किएका थिए , उनीहरुले भने ऊ लाटी हो , उसको छोरी पनि लाटी । मलाई नमिठो लाग्यो ।

त्यो दिनको कक्षा सकिएपछि विद्यार्थीहरु घर पठाएर हामी पनि आ-आफ्नो घर तिर  लाग्यौँ । घर पुगेर खाजा खाँदै छोराछोरीसँग एकै छिन भुलेँ । दिनभरिको थकान छिनमै छु: मन्तर  भए झैँ लाग्यो। ।बेलुकीको आठ बजेतिर खाना खाइवरी कोठाको झ्यालबाट बजार नियाल्दै थिएँ , बिजुलीको उज्यालोमा बजार नव बधु झैँ अत्यन्त सुन्दर देखियो । मान्छे हरुको ओहोरदोहोर र हल्ला कम भैसकेलाले  बुढी गन्डकीको सुसाहट  स्पस्ट सुनिन्थ्यो , सङ्गीत जस्तै मीठो बनेर तरङ्गित बनाईरहेथ्यो हृदय । यस्तैमा घर छेउको भिमसेन थानको पेटीमा मेरो दृस्टी पुग्यो , दृष्यमा थिए तिनै आमा छोरी ।

एक मनमा आयो ति आमाछोरीले केही खाए होलान् ?

अर्को मनले भन्यो राति के गर्ने हो र  ह्या होस् 

 झ्यालमा सटेर खाट राखिएको थियो , सिरक ओडेर खाटमा  भोलिपल्टको कक्षा तयारी स्वरुप बसेर पढ्न थाले प्यान्डोराज बक्स कक्षा पाँचको गुलमोहर अंग्रेजी पुस्तक भित्रको ।बेलुका अबेर सम्म बस्ने र बिहान ढिलो उठ्ने मेरो बानी देखि परिचित मेरी आमा  केही नभनी सुत्नु भयो ।बजार पनि करिब करिब  सुतिसकेको थियो , केही घरका कोठामा  बाहेक बिजुली बत्ती निभिसकेको थियो ।

म पनि सुत्ने तरखरमा बत्ती निभाउन उठेँ । फेरि डुल्यो नजर भिमसेनथानको  पेटीमा ।

एउटा धमिलो छाँया पेटीतिर लम्कियो , यता उता हेर्यो , र चपक्क ती महिलाको हात समातेर तल्लो बजारको लुकेको गल्ली तिर लाग्यो  र पछि पछि लागिन् ति बालीका पनि ।

को होला त्यो मान्छे,  किन  आयो  मध्यरातमा  त्यहाँ  , मनमा 

प्रस्नको आँधी हुरी चलिरह्यो ,  राती अबेरसम्म निन्द्रा लागेन ।पटकपटक चियाइ रहे आँखाहरु झ्याल बाट  ति अझै फर्किएका थिएनन् । बिहान पख निदाएछु ।

भोलिपल्ट शनिबारको दिन थियो , राति अबेरसम्म बसेकाले होला बिहान ढिलो उठेछु । कोठाको झ्यालबाट सूर्यनारायण छिरी सक्नुभएको थियो  ।मधुरो आवजमा आमाले भन्नुभयो  उठ ! बिदाको दिन भए पनि बिहानभर सुत्ने  होइन,

  काखको छोरो मस्त निदाईरहेको थियो ,म बिस्तारै उठे , नित्यकर्म सकेर  एकैछिन छोराछोरी सँग भुलेँ। आमाको हातले बनाएको मीठो चिया पिएँ , कुरिरहे बिहानको खाना । खाना पछि बजारतिर लहडिदै थिए , धेरै जसो पसलेहरुलाइ  चिन्दथेँ , नाता मावली गाउँले दिएकै थियो ,मामा ,माइजू , दाई भाई यस्तै यस्तै । बैशाखको महिना टन्टलापुर घाम , खाल्डोमा भएको सतीघाट बजार ।एकछिनमै असिन पसिन हुँदै म छिरे उही  समोसा पसल जहाँ फ्रीजमा  राखेको चिसो कोकाकोला र फ्यान्टा किन्न पाइन्थ्यो उसो त त्यतिखेर फ्रीज पनि जहाँ तही उपलब्ध थिएन ।

एउटा कोकाकोलाको बोटल टेबलमा राखेर  साहुनी माइजुले भन्नु भो , बस्नुस न भान्जी । बसेर कोक पिउदै थिएँ , लुसुक्क  लाटीका आमा छोरी पसलमा पसे ।यसपटक साहुनीले पकाईरहेको  तेलको कराईबाट एक एक समोसा  दुबैका हातमा राखिदिइन् , जम्ले हात जोड्दै ति महिला बाहिरिन् , पछि पछि लागिन बालिका पनि । साहुनी एकोहोरो फत्फताउन लागिन , वाक्कै पारिसके , बासै यहीँ हो यी लाटीका आमा छोरीको । पसल ब्यस्त नभएको र प्रसङ्ग पनि तिनैको चलिरहेको बेला मैले  ति महिला बारे जान्ने चाहनाले सोधेँ। कहाँ का रहेछन् यिनीहरु माइजु , कता बस्छन यहाँ ।

प्रतिउत्तरमा माइजुले  भन्नु भयो , यिनीहरूको  के घर थर नानी । सात आठ वर्ष जति भयो , यो लाटी यहाँ देखिन थालेकी ।एक्लै आएकी थि , कुन असतीको पाप हो झुन्ड्याई हिड्छे आजभोली। छोरी चाँही पनि बोल्न सक्दिन । दिनभर यतै बजार तिरै हुन्छन् , रातभरि  कहाँ कोसँग  पत्तो हुन्न ।पापको डर नभएपछि यस्तै हो असतीहरु ।

साहुनी यस्तै के के भन्दै थिईन् , मेरो मन अमिलो भयो म , कोकाकोलाको पैसा  तिरेर बाहिरिए। बजारमा मन लागेन सरासर घर फर्किएँ । छोराछोरी हजुरआमा सग खेलिरहेका , म सँग भन्दा बढी मेरो आमासँगै रहने बानी परिसकेको थियो। म बच्चाहरु सग बसे आमाले खाजा बनाउनु भयो । 

मकै भटमास फ्वाँक्क मुखमा हालेर  आमाको अगाडि  फुकाएँ  ती महिला प्रतिको मेरो चासोको थैली , आमा खासै  बोल्नु भएन । आखिर यी  नदेखिने , नलेखिने र नपढिने कथा न हुन् समाजका । घाम डुब्यो , बजार बिस्तारै सुन्य भयो ,  झ्याउँकीरीको  आवाज र बुढी गन्डकीको सुसाहटले सङ्गीतमय बन्यो बजार फेरि । सबै कुरा नियमित र नियंत्रित रूपमा चलिरहेकै थिए  ,खाली अन्यौलको तुफान मडारीरहेको थियो त मेरो हृदय भरी।

त्यो रात पनि मैले उही दृश्य देखेँ ,

 अन्धकार रातमा टप्किएको त्यो छाँया कसको थियो खुट्याउन सकिनँ, मन भारी बनाएर भिमसेन थान पेटीको गोप्य गस्ती गर्नु नियति नै बनिसकेको थियो मेरो ,कहिले बूढो छायाले समात्थ्यो लाटीको पाखुरो त कहिले डोर्याउथ्यो तन्नेरी छायाले उही तल्लो बजारको लुकेको गल्लीतिर ।

बिहान भिमसेन थानको पेटीमा खसेका बिस्किट्स्का खोल र मोहर जाने एक दुई चकलेट ले नभनेरै भनिदिन्थे जवानीको मुल्य पनि ब्यक्ति बिशेष हुन्छ ,

यो सब देखेर पनि एक मुकदर्शक भइरहे,  करिब करिब सात आठ महिनापछि एक बिहान भिमसेनथानको चर्को हल्लाखल्लाले ब्युँझिए म र हत्तपत्त झ्याल खोलेर हेर्दा ,बाहिर पेटीमा उत्तानो परेर लडिरहेको  एक लाशलाई टाउकोसम्म छोपिने गरी ओडाइएको थियो लाटीको पुरानो खास्टो। आङ सिरिङ्ग भयो , 

म फटाफट भर्याङ ओर्लिए र थपे आफूलाई त्यो भिडमा , राम ,राम पापको  पनि सिमा हुन्छ नि कुन असतीको काम होला ,निर्घिणी , पापी थुक्क थुक्क यस्तै आवाजले बजार तताइरहेको थियो।

म थोरै दोधार र धेरै निर्क्योलमा थिए लाश कसको होला , छोरी लाटी झम्टिएर लास तर्फ बढी र स्वात्त तानेर खास्टो खोकिलोमा च्याप्दै अति कातर नजरले हेरी भीडका केही जोर आखाहरुमा। उता टुलुटुलु आकाश नियालीरहेका निस्प्राण आखाहरु मा नजर पर्यो । उही आमा लाटी । अति दु:खी, दोषी भावमा मेरो शिर निहुरियो। मानबताको सिङ्गो लास देखे झैँ लाग्यो आफ्नो अघिल्तिर ।

 वस्तिका केही पुरुषहरु लाटीको अन्तिम संस्कारमा लागे ,अरु आ-आफ्नै काममा लागे, आखिर उसको मृत्युले कसैलाई  फरक पारेन उसकी छोरीलाई अबस्य पारेको थियो तर कसले सुनिदिने मुकहरुको आवाज 

आफ्नै भाषामा  भनिरहेकी थिइ मेरो आँखै अगाडि मारेको हो यसले मेरी आमालाई यो हत्यारा हो ,यो हत्यारा हो ।

उसको भाषा हामीले बुझेनौं या बुझ्न चाहेनौ  यसको हिसाबकिताब गर्ने कुरै भएन म  अति शभ्य ,प्रगतिशील समाजको सुसस्कृत लेखक !

जे भए पनि ऊ छोरी लाटीबाट अनाथ लाटी बनेकी थिई केही दिन उसको भोक वस्तीले टारी  दियो दयाको नाममा ,घाटबाट फर्किएको केही दिनमै बिर्सियो  बजारले घाट जाने बाटो र एकदिन हामी पनि जानु छ भन्ने सत्य ।

 फेरी छोडिई छोरी लाटी भिमसेनथानको पेटी र 

बजारका गल्लीहरूमा एक्लै ! ऊ के सोच्दी होली एक्लै भौतारिदा गल्लीहरुमा, किन टोलाउदी होली नियाल्दै जूनलाई। त्यो क्लान्त मनोबिज्ञानको के अर्थ यो समृद्ध समाजको परिकल्पनामा , हेर्नुस् न बेकारमा बहकिन्छ यो लेखक  मन पनि !

भोकले रन्थनिएर छिर्दी हो होटेल र पसलहरुमा , प्राय जसो साहु साहुनीहरु कुचोको झटारो लिएर  आउँदा यहाँ समोसा र चाउमिन भन्दा बढी मानबता बेचिए झै लाग्थ्यो भनेर भन्नलाई म आफैं ले पनि परिवारको भान्सामा उसको लागि न दुई मुठी चामल थप्न सके , न सके थोरै गास काटेर ख त्यो अबोधको पेट भर्न , लाज पचाएर लेख्न चाहिँ कसरी सक्दोरहेछ लेखक जातले , भनिहाले नि धेरै प्रश्न छन  यो कथामा मानबताको अस्तित्व सन्दर्भमा ।

उसो त लाटी अब उसै सरहका नानीहरुका बिध्यालयको खाजा खाने छुट्टी , र गृहकार्य सकिएपछि खेलमैदानमा जुटेका बेलाको मनोरन्जनको साधन बनिसकेकी थिई। चकलेटको  प्लास्टिकमा ढुङ्गा बेरेर नानीहरूले फालेका ती झुटा पोकाहरु दुखाइको प्रवाह नगरी हत्तपत्त खोल्दथी लाटी , चकलेटको सट्टा ढुङ्गो हात परेपछी सुइँय ढुङ्गो फर्काउथी उनै भएतिर।

भागौ भागौ लाटीले मार्छे , माहुरी रानोको पछि लागे झै दौडिन्थे बीच बजार तिर र लामो स्वा स्वा र फ्वा फ्वा गर्दै घर छिर्थे नानीहरु। पसलमा लुगा नापिरहेका , सुन जोखिरहेका बाहरु, भान्सामा पक्वान्न तयार गर्दै गरेका आमाहरू आफ्नो नानीका यी हर्कतसग साच्चै बेखबर थिए होलान्?

उपेक्षाहरुकै  बीच किन नहोस् हलक्क बढी लाटी मैलो खास्टो छेडुला झैँ गरि  उद्धत थियो उसको जवानी ,  गालामा रस चढेको  थियो , लालिमा बढीको थियो उष्ण ओठहरुमा, श्रृङ्गार को के कुरा महिनौं सम्म पानीको थोपा सम्म नपर्ने उसको बदनबाट कस्तो वास्ना छुट्थ्यो  कुन्नि  बुढा ,तन्नेरी  पुरुष नाकहरु  हुन्हुनाईरहन्थे वरिपरि र खोजी रहन्थे मौका डुबेर उसको यौवन पोखरीमा सयर गर्न। 

 फेरि लप्पाउन थाले प्यासी जिब्राहरु उसको रसिलो यौबनमा र  देखिन थाले बुढा तन्नेरी छायाहरु बजारको बत्ति निभ्नेबित्तिकै  निशाको आडमा जुनकीरीको प्रकाशमा ।

म भित्र भित्रै मरिरहेकी थिए , मेरो बस चल्दो हो त न निस्किनै दिन्थे  ज्यानमारा ज्वालामुखीका ढिस्काहरु उसको छातीमा , न मगमगाउन नै दिन्थेँ उसको यौबनजन्य वासना  बस्ती वरिपरि । पस्चातापले  पोलिरहेकै थियो , थोरै मानबता  म भित्र उमार्न सकेको भए मैले , ती अन्धकार रातमा लाग्न सकेको भए पछि पछि ती असती  छायाहरुको , यो अबोधले आमाको बलात्कार पछिको बीभत्स हत्या बेहोर्नु पर्दैन थियो होला । 

 म नचाहेरै पनि  लाटीको पहरा दिने भैसकेको थिएँ, म हर रात मेरो कोठाको झ्यालबाटै चौकिदारी गरिरहन्थेँ ।

यस्तैमा एक रात एक अधबैंसे छाया पेटीतर्फ  लम्कियो , बिस्तारै लाटीको हात समात्यो , मलाई भाउन्न छुट्यो  , यो छायाले लाटीलाई डोर्याएर 

तल्लो बजारको लुकेको बाटो तिर नलाग्दै म पुग्नुपर्छ , म अब अरु पाप गर्न सक्दिन धर्म स्वरुप 

त्यो कलुषित आत्मालाई मोक्ष दिनु पर्छ, जुरुक्क उठेर सिरानीमा राखेको खुर्पा झिकेर , भर्र्याङ् तिर लाग्नै आटेको  थिए , भिमसेन थान पेटीको सपना झैँ दृश्य ले मेरा पाइलाहरु रोकिए ,म थुचुक्क खाटको डिलमा बसे र नियालीरहे त्यो दृश्य ।  त्यो छायाँले  एउटा बटुको जस्तो भाडा बाट  बिर्को हटायो र  लाटीको अगाडि राखिदियो ।लाटी कपाकप खान थाली , छायाले लाटीको गाला मुसार्यो , कपाल सुम्सुम्यायो , लाटीले खाइसकेपछी आफू डङ्ग्रङ्ग पेटीमा लडेर लाटीलाई  छातीमा टास्यो , लाटीले कुनै प्रतिकार गरिनँ , कैयन दिन र  हप्ता सम्म यो क्रम जारी नै रह्यो । अधबैसे छाँया सधैं जस्तो  आइरहन्थ्यो , सधैं नियति उही थियो ।

त्यो छाया आज पनि आयो , रहस्यमय दैनिकीले मेरो मन मस्तिष्कमा अन्तर्द्वन्ध चलाईरहेकै बेला उसको बिल्कुल फरक हर्कतले अनिस्ट हुदैछ भन्ने छनक दिहाल्यो। आज उसले टिफिनको बट्टा खोलेर अगाडि राखेन , उसले सधैं जस्तो लाटीका गाला मुसारेन , न मुसार्यो  लट्टा परेको कपाल छिचोल्दै नरमसग उसको टाउको नै । बरु एकदम अनौठो किसिमले तलदेखी माथीसम्म सुघ्न थाल्यो ,  तुना नफुस्के पछि ध्यार् र च्यातिदियो बिचरी लाटीको चोली नै। 

मुक अस्मिताको आकाश  खस्नु पहिले म पुग्नु पर्छ , म पुग्नु पर्छ , हड्बडाउँदै बर्बराउदै सिरानको खुर्पा झिकेर भिमसेन थान पेटीमा पुग्दा लडीसकेको थियो त्यो कलुशित छाया एउटा लाश बनेर र छोपिएको थियो उही मैलो पुरानो खास्टोले। 

म लाटीले समेत थाहा नपाउने गरि सुटुक्क कोठामा फर्किए , थन्क्याए खुर्पा सिरानीमा फेरि , 

बर्सौ देखि अनिदो रातले थकित थकित म  परम आनन्दको अनुभुतीमा कसरी भुसुक्क निदाएछु। 

झिसमिसे उज्यालोमा भिमसेन थान पेटीको चर्को हल्लाले बिउझिए  । के भयो जानेकै कुरा थियो , खाली जान्नु थियो त को छ मुर्दा बनेर त्यो खास्टो भित्र। प्रहरीमा  खबर भएको रहेछ , रगतमा लत्पतिएर लडिरहेको भिमसेन थानको त्रिसुल प्रहरीले पन्जा लाएको हातले सेतो कपडामा बेर्यो र खास्टो हटायो लाशबाट , त्यो ब्वासे लाश अरु कसैको नभएर गाउँकै समाजसेवी राजनीतिज्ञ कालबिरको  थियो। एकछिन आखाहरुले पत्याउन सकेनन् , हृदयले स्विकार्न सकेन अपितु बास्तबिकता यही थियो ।

 अनुहार भरी नङ्राका डोब थिए , घाटीमा पन्जाको डाम स्पस्ट देखिन्थे ,

मनमा लाटीप्रतिको खतराको ढ्याङ्ग्रो बजिरहेको थियो , म इस्ट कुल , रामे भुमे सम्झिदै थिए पुकार्दै थिए यी सबका सबलाई मुक बनाईदिनु , मूर्ख बनाईदिनु , कदापि  बुझ्न नसकुन लाटीको  मुक कबुलनामा,  बुझ्न नसकुन् मुर्दाका घाटीमा भएका पन्जाका छापहरु, लाटीका फरिया भरीका राता टाटाहरु र  जसरी बुझ्न सकेका थिएनन् आमा लाटीका फरियाका सेता र राता टाटाहरु , जसरी बुझ्न सकेका थिएनन् बलात्कार पछिको बीभत्स हत्या । जतिखेर म फर्किएँ प्रार्थनाको सन्सारबाट , भीड डिस्मिस भैसकेको थियो , प्रहरी  थिएनन् , लाटी थिइन