लघुकथाः आमाको हुन नसकेको छोरो​

२०३९ सालतिर सोलुको दूरगाउँमा परिवारको तिरस्कार, धोका र निराशाको भुमरीमा फसेकी एक आमाको मनभरी आशाको जून र बाँकी सबको ह्र्दयमा त्रास, द्वेस र घृणाको औँशी पोखेर जन्मिएकी रे आशा।

धेरै दिनदेखिको भोको पेट, अति क्षीण स्वास्थ्य अवस्था र असैह्य लामो प्रसव पीडापछि जन्मिएकी उसलाई आमाले मनमनै पुकारिन् आशा ।

आशाको जीवनमाथि अधिकार राख्नेहरुले अरु नै नाम राखिदिए । नाम, परिचय, भोगाई जिन्दगीको, चेपचाप, छोपछाप गरेर देखाइएको जिन्दगीको सुकिलो पाटो यतातिर लेख्न थाले लघु कथा होईन उपन्यास बन्छ । त्यता लाग्दिनँ हस् ?

आशा बिस्तारै हुर्किदै गई । आमाको दुखको सारथी उही मात्र थिई । उसको आमाको कोख भरिएन फेरि । एकल आमाको एक्लो सन्तान । आमाको निमेकी दैनिकी, झुप्रोको कारुणिक परिवेश र गरिबीको सगरमाथा छेउमा उसले कहिल्यै उभ्याईन, आफ्ना रहरका चुरेभावर । कुनै दिन मागिन, पिपलमेट किन्न एक सुका । कहिल्यै मागिन ५ रुपैयाँ राता चुरा किन्न तीजमा । बरु बिस्तारै बटुल्नथाली बाँसको खपैँचा चुलो बाल्न । बिस्तारै सिकी आगो बाल्न, तावामा कोदोको रोटी पथार्न, वल्लो पल्लो घर गई मोही बेसाउन ।

समय सधैं एकैनास रहेन । सानैदेखि पढ्नमा तेज आशाको कक्षा ६ को शुरूवातले छुटायो आमाको काख । किताब किन्न, कलम कापीको खर्च जुगावट गर्न नसक्ने भएपछि कहिले मामाघर, कहिले बा र कान्छी आमा, कहिले फुपुको घर गरेर पुरा गरी आशाले बाकी विद्यालयस्तरिय शिक्षा ।

अब १६ बर्षकी आशा र आशाकी आमाको इच्छा रजामन्दी बिना नै आशाको धुमधाम बिहे भयो, बिहेले छोपिदियो आशा र आशाकी आमाले भोगेको जिन्दगीको कहालीलाग्दो गरिबी । सम्बन्धहरुले लाज मिचेर ङिच्च हाँसे । आशाको बिहे गजबको घरमा भएको रहेछ । उसलाई उसको बिहेप्रति गुनासो छैन

ऊ आमासँग साथ रहँदा या एक्लै भौँतारिँदा जिन्दगीका गोरेटोहरुमा कहिल्यै बिर्सिन आफू हुनुको कर्तव्य, विवाहपश्चात स्वदेशमा स्नातकोत्तर र विदेशमा ब्यापार ब्यबस्थापनमा स्नातक गरेकी आशाले आमाको राम्रो हेरचाह, आमाले चाहेको जिन्दगी आमालाई दिलाउनुका साथै आफूलाई एक सबल, स्वाभलम्बी नारी हस्ताक्षर प्रमाणित गरिसकेकी छ ।

बिहान चराहरुको बडो मीठो चिर्बिर चिर्बिरले बिउँझी आशा । सिरानी नजिकै बेड टेबुलबाट फोन तानेर समय हेरी । बिहानको पाँच बजेको रहेछ । फोनको स्क्रिन तलमाथि सार्दै हराउन थाली फेसबुकमा आशाा । अङ्ग्रेजी नयाँ बर्ष र नेपाली टोपी दिवसको दिन रहेछ । नेपाली ढाका टोपी, भादगाउँले टोपी, विभिन्न अरु नेपाली टोपी लगाएर खुलेका नेपाली तस्बिर देखेपछि जुरुक्क उठी आशाा । बिहानको नित्यकर्म सकेर सर्लक्क लगाई । सेतो सर्ट, कालो प्यान्ट, कालै स्टकोटमा ऐना अगाडि उभिएर लगाई चन्द्र सुर्य अंकित कालो टोपी शिरमा र के सोचेर हो कुन्नि मुसुक्क मुस्कुराई ।

नेपाली साहित्यमा खुब रुचि राख्छे आशा । कथा, कविता, गजल उसका लेखनका विधा हुन् । आजको साहित्य मेलामा सामेल भै ऊ । धेरैलाई सुनी । आफूलाई सुनाई । सरुभक्तका कविता, शरण आँसुका कविता, प्रदिप रोदनका गजल मनभरी राखेर साँझ आमाको घरतर्फको बाटो लागी ।

उसलाई हतारो थियो आमाको लागि बोकेको सर्प्राइजको झोला आमाकै अघि खोल्न, जसमा थियो आशाको १५ दिनको हिँउदे छुट्टीको खुलासा र आमाछोरीको लागि तय गरिएको चारधाम यात्राका टिकटहरु ।

आमा कहाँ पुगेको साँझ, ग्याँस चुलो भुइँमा राखेर पिर्कामा बसी सेल फन्काउँदै आमाले भन्नू भयो, ‘आशा, तँ पेटमा भएको बेला सपनामा कसैले भनेको थियो, आँशु पुछ्ने छोरो जन्मिन्छ, तँ जन्मिइस् ।